Logo

अर्थ

एक तोला सुन खरिद बिक्री गर्दा उपभोक्ता कुल २५ हजार नोक्सानी बेहोर्नुपर्ने



काठमाडौँ । एक तोला सुन खरिद बिक्री गर्दा उपभोक्ताले कुल २५ हजार ५०० हाराहारी नोक्सानी बेहोर्नुपर्ने अबस्था आएको छ । सुन खरिद बिक्रीमा व्यवसायीहरूले संस्थागतरुपमै उपभोक्तालाई मार पर्नेगरी सम्बन्धित सङ्घहरूले मूल्य निर्धारण गर्ने गरेको पाइएको हो । बिहीबार काठमाडौँ सुन तथा चाँदी डिलर एसोसिएसनले आफ्नो सूचनापार्टीमा यस्तै सूचना खुलेआम रूपमा राखेको देखियो ।

उक्त एसोसिएसनले सुनको बिक्री मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको जनायो भने खरिद मूल्यचाहिँ १ लाख ३३ हजार ४०० रुपैयाँमात्रै कायम गर्‍यो । पछिल्लो समय जर्तीको नाममा हुने अपारदर्शी व्यापार अन्त्य हुनुपर्ने आवाज समेत उठिरहेको बेला एसोसिएसनले यसरी ग्राहकलाई एक तोला सुन खरिदबिक्रीमै ११ हजार ६०० रुपैयाँ फरक पर्नेगरी मूल्य निर्धारण गरेको हो ।

व्यवसायी नरेन्द्र गुप्ता काठमाडौँ सुनचाँदी व्यवसायी एसोसिएसन (संघ) को यो सूचना गलत भएको बताउँछन् । आफ्नो गहना फिर्ता (बेच्दा) उपभोक्तालाई तोलामा ११ हजार भन्दा ६०० कम दिने गरी मूल्य निर्धारण गरिँदा ग्राहकलाई ठुलो घाटा हुने उनी बताउँछन् । ‘यस्तो उपभोक्ता मारा खरिद मूल्य निर्धारण गैरकानुनी हो’, उनले भने, ‘नेपाल राष्ट्र बैंकको नियमानुसार खरिद र बिक्री मूल्यमा जम्मा १ प्रतिशत भनेको तोलामा १४५० कटाउने हो ।’

गहना बेच्ने बेला १० प्रतिशत जर्ती कट्टा र किन्दा तोलामा ११००० कम दिँदा उपभोक्ताले गहना खरिद बिक्री गर्दा कुल २५ हजार ५०० हाराहारी नोक्सानी बेहोर्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।

तर, आफू संलग्न रिद्धि सिद्धि ज्वेलर्सले गहना किन्दा र बेच्दा कुनैपनि जर्ती बापत वा अन्य बहानामा उपभोक्तासँग गैरकानुनी रूपमा शुल्क नअसुल्ने उनको भनाइ छ । उनले रिद्धि सिद्धिले ७ प्रतिशत ज्यालामात्रै लिएर गहना बेचिरहेको जानकारी दिए । ग्राहकको गहना किन्ने भाउ निर्धारण गर्ने काठमाडौँ सुन तथा चाँदी डिलर एसोसिएसनका अधिकारीहरू भने यसबारे बोल्न चाहेनन् । तर, अर्का एक व्यवसायीले भने सुनचाँदी व्यवसायमा विभिन्न बेथिति रहेको भन्दै यसलाई सुधार्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार ०८:४६   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।