काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थापक सेयरमा लकइन अवधि बढाउने भएको छ । बोर्डले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको छ ।
संस्थापक सेयरको लकइन अवधि हाल ३ वर्ष रहेको छ । कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपछि कम्तीमा ३ वर्ष संस्थापक सेयर बेच्न पाइँदैन । तर, संस्थापक शेयरधनीहरूले यो समयावधि अझै घटाउन दबाब बढाउँदै आएका छन् ।
तर, आइतबार आर्थिक वर्ष (आव) २०८१/८२ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले लकइन परिमार्जन गर्ने घोषणा गरेको छ ।
‘सूचीकृत संगठित संस्थाको संस्थापक सेयरमा हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।
बोर्डका एक उच्च अधिकारीका अनुसार ‘प्रभावित स्थानीयको पनि लकइन अवधि ३ वर्ष नै भएकाले संस्थापकको हकमा केही बढाउनुपर्ने आवश्यकता देखिएकाले यो तयारी गरिएको हो ।’
संस्थापकलाई लकइन अवधि कति राख्ने भन्ने विषय भने अध्ययन र सम्बद्ध क्षेत्रसँगको परामर्शपछि तय हुने बोर्डले जनाएको छ ।




















प्रतिक्रिया