Logo

अर्थ

साढे १५ अर्ब वैदेशिक रोजगार बचतपत्र जारी गर्दा जम्मा ७६ करोड बिक्री



काठमाडाैं । सरकारी ऋणपत्र तथा निश्चित परियोजनाका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट लगानी उठाउने गरी ल्याइएको वैदेशिक रोजगार कार्यक्रम असफल भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र आव्हान भएकोमा जम्मा ७६ करोड २३ लाख रुपैयाँको (४.९ प्रतिशत) मात्र बिक्री भएको छ । विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्ययोजना अनुसार वैदेशिक रोजगार बचतपत्रका स्थिति र यसको प्रवर्द्धनका उपायहरू सम्बन्धी एक अध्ययन गरेको छ । जुन अध्ययन प्रतिवेदनले २०७५/७६ बाहेक सुरु वर्षदेखि २०७९/८० सम्मका सबै वर्षहरुमा यस्तो बचत पत्र बिक्रीका लागि आह्वान गरिएको जनाएको छ ।

नेपाल सरकारबाट आन्तरिक ऋण परिचालनमा ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र उपयोगमा ल्याइएको छ । आन्तरिक ऋण परिचालनका यी उपकरणहरूमध्ये आर्थिक वर्ष २०६६/६७ देखि आह्वान हुन थालेको वैदेशिक रोजगार बचत पत्र तुलनात्मक रुपले नयाँ उपकरण हो ।

गैरआवासीय नेपाली नागरिक एवं वैदेशिक रोजगारीमा रहेका वा फर्किएको ६ महिना अवधि व्यतीत नभएका नेपाली नागरिक र निजका एकाघर परिवारकाले यो उपकरणमा लगानी गर्न पाउने व्यवस्था छ ।

पछिल्लो रिपोर्ट अनुसार ५५ लाख २६ हजार नेपालीहरू वैदेशिक रोजगारीको सिलसिलामा विश्वका विभिन्न देशहरूमा छन् । यसको अलाबा २० प्रतिशत भन्दा माथि अनौपचारिक च्यानलबाट भारतमा रहेका नेपालीहरू समेतलाई आधार बनाएर गरिएको सर्वेक्षणले वैदेशिक रोजगार बचतपत्रमा खासै रुचि नभएको देखाएको छ ।

प्रकाशित मिति : श्रावण १५, २०८१ मंगलबार  १ : ५६ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।