काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।
विस्तृत विवरण मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले दिनेमा आफू विश्वस्त रहेको बताउँदै महानिर्देशक अधिकारीले सर्सर्ति हेर्दा खराब मौसम रहेको ठाउँमा हेलिकप्टर प्रवेश गर्नु नै दुर्घटनाको कारण प्रारम्मिक रूपमा देखिएको बताए । ‘यसको (हेलिकोप्टर दुर्घटना) रुट कज हेर्दाखेरी फेरि छानबिन आयोगले बताउला, ब्याड वेदरमा प्रवेश गरेको, बादलभित्र प्रवेश गरेको कारणले फर्किने क्रममा देब्रे घुम्दा दुर्घटना भएको जस्तो देखिन्छ । फ्लाइटिङ कमान्डले सिभिल एभिएसनको भिजुल फ्लाइट रुलअनुसार यसरी बादलभित्र छिर्नु अथवा आफूले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले बर्जित गरेको विषय हो । रुट कज भनेको ब्रिज अफ द भिजुअल फ्लाइट रुल हो,’ उनले भने ।
काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टी ९एन-एजेडी कलसाइनको हेलिकप्टर नुवाकोट, शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा एयर डाइनेस्टीका वरिष्ठ क्याप्टेन अरुण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको थियो ।




















प्रतिक्रिया