काठमाडौं । चौधरी समूहको सामाजिक उत्तरदायित्वअन्तर्गत चौधरी फाउन्डेसन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)द्वारा सञ्चालित अप्रेन्टिसशिप कार्यक्रमको हिस्सा बन्ने भएको छ । यस कार्यक्रम अन्तर्गत सीजी कर्प ग्लोबलले विभिन्न क्षेत्रमा सीपयुक्त प्राविधिक बनेका १०० युवाहरूलाई अप्रेन्टिसका रूपमा अवसर प्रदान गर्ने जनाएको छ ।
अप्रेन्टिसशिप कार्यक्रमअन्तर्गत युवाहरूले प्राविधिक विद्यालयमा केही सैद्धान्तिक ज्ञान र व्यवहारिक सीपहरू प्राप्त गर्नेछन् । उद्योगमा, कम्पनी प्रशिक्षकको सुपरिवेक्षणमा आफ्नो सीप निखार्ने अवसर पाउने र सीटीईभीटीद्वारा प्रदान गरिने प्रि–डिप्लोमा वा डिप्लोमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र इन्स्योर परियोजनाका टिम लिडर रवीन्द्रबहादुर सिंहले हस्ताक्षर गरे । इन्स्योर परियोजना नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारको द्विपक्षीय पहल हो । जसलाई संघीय स्तरमा सीटीईभीटी र प्रदेश स्तरमा शिक्षासम्बन्धी मन्त्रालयहरूद्वारा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन गरिँदैछ ।
नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. डानिएल म्युहली, सीटीईभीटीका सदस्य सचिव महेश भट्टराई र हेल्भेटास नेपालका राष्ट्रिय निर्देशक डा. प्रविन मानन्धर पनि सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा उपस्थित थिए ।
डुअल भेट–अप्रेन्टिसशिप मोडल अर्थात् औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रम विकासका लागि एक सफल योजना हो । यसले युवा पुस्तालाई उद्योगमा सम्पर्क बढाउने, कार्यस्थलमा आधारित सिकाइ, कमाउँदै सिक्ने र मान्यता प्राप्त योग्यता हासिल गर्ने अवसर प्रदान गर्दछ ।
यसैगरी, प्रशिक्षार्थीहरूले अप्रेन्टिसशिप अवधिमा लागत लाभ पाउनेछन् जसले अन्ततः उच्च क्षमतावान कार्यबलद्वारा उत्पादकत्व वृद्धि गर्नेछ । सरकारका लागि पनि यो मोडल कम खर्चिलो हुन्छ, किनकी यसले प्रयोगशाला र उपकरणहरूमा कम लगानी गर्नुपर्ने हुन्छ । यस मोडलबाट बजारमा दक्ष जनशक्तिहरू उत्पादन गर्न सक्नेछ ।
सीजी कर्प ग्लोबलमा उद्योग द्वारा सञ्चालित डुअल भेट–अप्रेन्टिसशिप कार्यक्रमहरू कार्यान्वयन गर्नुका साथै, उद्योगहरूमा कार्यरत कर्मचारी तथा कामदाको सीप अभिवृद्धि, र हरित सीपहरू प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने “यस सहयोगले शिक्षा र रोजगारबीच रहेको खाडललाई पुरा गर्न मदत गर्नेछ, र युवाहरूलाई आफ्ना करिअरमा सफल हुन आवश्यक सीप र अवसरहरू प्रदान गर्नेछ ।”
प्रतिक्रिया