काठमाडौं । नेपालले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा भारतलाई बिजुली बेच्ने भएको छ । नेपालले द्विपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको हो ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाण राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५.००४ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो ।
प्राधिकरणकाअनुसार १० जलविद्युत आयोजनाहरुबाट उत्पादित १२५.००४ मेगावाट विद्युत बिहारलाई बेच्ने छ । बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ ।
यस्तै २ जलविद्युत् आयोजनाहरुबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यलाई बिक्री गर्नेछ । प्राधिकरणले हरियाण राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।
आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रति युनिट ८ रुपैयाा ७२ पैसा (५.४५ भारु) रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाा ४० पैसा (५.२५ भारु) थियो । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु भने प्राधिकरणले बेहेर्नु नपर्ने जनाएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ ।
भारतबाट स्वीकृति पाएसँगै अब बिहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ । प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री हुनेछ ।




















प्रतिक्रिया