काठमाडौं । काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत अवधेश झाले बताए ।
माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त नभएको र कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख नपाइएको महानगरको प्रतिवेदनले औंल्याएको जनाइएको छ ।
इण्डष्ट्रीको नाममा प्राप्त भएको आइओइएस प्रमाणपत्र उत्पादित तेलमा प्रयोग गरिएको छ जुन गर्न नहुने प्रतिवेदनमा औंल्याइएको छ ।
तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) हरुको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेश भएको छ । सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको छ ।
उक्त ब्याचको उत्पादनहरूमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल) को तेलको प्रयोग म्याद भन्दा कम देखिएको महानगरपालिकाले जनाएको छ ।
तेलको लेबलमा उल्लेख गरिएको उपभोग्य/प्रयोग अवधि (३ वर्ष) के, कसरी र कुन आधारमा राखिएको पुष्टि हुने दस्तावेज प्राप्त नभएको निरीक्षण अधिकृत झाले बताए । ‘तेलमा प्रयोग गरिएको जडीबुटीहरुको मात्रा यकिन गर्ने गुणस्तरीय विधि, कुनै पनि परीक्षण गरेको विश्लेषण रिर्पोट जडीबुटीहरुको मानव स्वास्थ्यमा असर हुने/नहुने दस्तावेज इण्डष्ट्रीले उपलब्ध गराएन,’ उनले भने ।
महानगरले श्रीकेशको थप कारबाहीको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधी व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।




















प्रतिक्रिया