Logo

अर्थ

प्रत्यक्ष वैदेशिक लगानीको सर्वेक्षण सार्वजनिक, नेपालमा स्वीकृतको ३५ प्रतिशत मात्रै आउँछ



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष बैदेशिक लगानीको सर्बेक्षण २०७९/८० सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकको सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले बढेर २ खर्ब ९५ अर्ब ५० करोड पुगेको छ । उक्त आव खुद प्रत्यक्ष वैदेशिक लगानी भने ६ अर्ब मात्रै आएको सर्वेक्षणमा उल्लेख छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ र कर्जाको अंश १३.५ प्रतिशत छ ।

२०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् १ खर्ब ३ अर्ब ४५ करोड (३५ प्रतिशत) र त्यसपछि क्रमशः चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्याण्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अष्ट्रेलियाबाट १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिंगापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।

उक्त वर्ष नेपालमात्र नभएर दक्षिण एसियामा नै खुद प्रत्यक्ष वैदेशिक लगानीमा भारी गिरावट देखिएको छ । सन् २०२३ मा विश्वमा १३ खर्ब ३१ अर्ब ८० करोड अमेरिकी डलर बराबर प्रत्यक्ष वैदेशिक लगानी भएको थियो । जसमध्ये दक्षिण एसियामा ३६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आएको छ । जुन २०२२ को तुलनामा ३७.५ प्रतिशत कम हो । २०२२ मा ५७ अर्ब ५० करोड डलर प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा आएको थियो ।

केन्द्रीय बैंकको २०७९/८० को सर्वेक्षण अनुसार ६ अर्ब खुद प्रत्यक्ष वैदेशिक लगानी आएको थियो । २०७८/७९ मा १८ अर्ब ६० करोड, २०७७/७८ मा १९ अर्ब ५० करोड, २०७६/७७ मा १९ अर्ब ५० करोड र २०७५/७६ मा १३ अर्ब १० करोड प्रत्यक्ष वैदेशिक लगानी आएको थियो ।

केन्द्रीय बैंकले गरेको सर्वेक्षणले नेपालमा स्वीकृत भएकामध्ये ३५ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी आउने गरेको देखिन्छ । सन् १९९५/९६ देखि २०२२/२३ सम्मको तथ्यांकले स्वीकृत भएको ३५ प्रतिशत मात्रै वास्तविक प्रत्यक्ष वैदेशिक लगानी प्राप्त हुने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १७:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।