Logo

अर्थ

८७ मेगावार्टको लान्द्रुक मोदीमा जुट्यो लगानी, माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटाले लगानी गर्ने



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो ।

आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत् विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंकको तर्फबाट बिनित कुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुङ्ग्याएका हुन् ।

१६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रवर्द्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरूले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ ।

आयोजनामा ग्लोवल आइ एम इ, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बीनी विकास बैंक समेत सहभागी हुनेछन् । उक्त आयोजनाको हेडवक्स देखि विद्युत् गृहसम्मको बास्तविक उचाइ १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरूमा यो लेभलको उचाइ सबै भन्दा धेरै भएको बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग यस अघि नै विद्युत् खरिद सम्झौता पिपिए भैसकेको यो आयोजनामा आगामी कात्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रवर्द्धक कम्पनी अन्नपूर्ण विद्युत् विकासले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १३:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।