काठमाडौं । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । बैंकले नेपालको मुद्रास्फीति गणना गर्न प्रयोग हुने राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कलाई आधार वर्ष २०७१/७२ बाट २०८०/८१ मा अद्यावधिक गरेको छ ।
समयको अन्तरालसँगै अर्थतन्त्रको संरचनामा परिवर्तन आउने हुँदा उपभोक्ताको खर्च प्रवृत्तिमा परिवर्तन हुने, नयाँ वस्तु तथा सेवाहरु बजारमा देखापर्ने, विद्यमान वस्तुहरुको गुणस्तरमा परिवर्तन आउने एवम् बजार विस्तार भइरहेको आधारमा यस बैंकले मूल्य सूचकाङ्कको आधार वर्षलाई अद्यावधिक गरेको हो । मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेदेखिको यो छैटौँ आधार वर्ष परिवर्तन हो । नयाँ आधार वर्षमा आधारित सूचकाङ्कले उपभोगको प्रवृत्तिलाई बृहत् रूपमा समेट्नुका साथै अन्तर्राष्ट्रिय अद्यावधिक अभ्यासहरूलाई अनुसरण गरेको राष्ट्र बैङ्कले जनाएको छ ।
अद्यावधिक गरिएको उपभोक्ता मूल्य सूचकाङ्कको डालोमा ५२५ वस्तु तथा सेवाहरू समावेश गरिएको छ । यसअघि ४९६ वस्तु तथा सेवा रहेका थिए । जसमा नयाँ उपभोग्य वस्तुहरू थप गरिएको र प्रचलनमा नरहेका वस्तु तथा सेवालाई हटाइएको छ उल्लेख छ ।
साविकको डालो (बास्केट) मा ५० जिल्लाका ६० वटा बजार केन्द्र रहेकोमा हाल देशका सबै ७७ जिल्लाका ८७ वटा बजार केन्द्रबाट मूल्य सङ्कलन गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।




















प्रतिक्रिया