काठमाडौं । बाढी र पहिरोका कारण देशभरि १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (नेपाल) (इप्पान)का अनुसार कतिपय आयोजनाको पावर हाउस डुबेको छ भने कतिपयमा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको माथिल्लो तामाकोशीको बाँधस्थल तथा बालुवा थिग्रयाउने पोखरीमा क्षति पुगेको छ । सो आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी चार जना बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।
मान्डु हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना र मकवानपुरको पावर हाउस पूर्ण रूपमा डुबेको छ ।
पाँचथरको माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना जुन गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो, अहिले यसको पावर हाउस डुबानमा परेको छ ।
त्यस्तै, पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना, जुन गत वर्षको बाढीले क्षतिग्रस्त भई पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा अहिले पुनः क्षतिग्रस्त बनेको छ ।सोलुखुम्बुमा साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुग्दा उत्पादन बन्द भएको छ ।
त्यस्तै, इलामको सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँध र टेलरेसमा क्षति हुँदा उत्पादन बन्द भएको छ । इलामकै सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ ।
पाँचथरको १ मेगावाटको फेमे खोला जलविद्युत् आयोजनाको बाँध र विद्युतगृहमा पूर्णक्षति पुगेको छ । लमजुङको ५ मेगावाटको सिउरीखोला जलविद्युत् आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ ।
त्यस्तै, लमजुङस्थित ४० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र प्रोटेक्सन वालमा समेत क्षति पुगेको छ । धादिङस्थित २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत् आयोजनाको पहुँचमार्गमा ठूलो क्षति भएको इप्पानले जनाएको छ ।
नुवाकोटस्थित २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको क्याम्प हाउस र पहुँचमार्गमा क्षति पुगेको छ भने तीन वटा कन्टेनर बगाएको छ ।
पाँचथरस्थित १० मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ । पहुँचमार्गमा क्षति पुगेको प्रसारण लाइनको टावर ढलेको छ । पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ ।
त्यसैगरी पाँचथरस्थित १५.१ मेगावाटको सभाखोला बी जलविद्युत् आयोजनाको पहुँचमार्ग बगेको छ । पावरहाउस पुरिएको छ भने बाँधमा क्षति र अस्थायी पुल बगाएको छ ।
पाँचथरकै ६.३ मेगावाटको सभाखोला सी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति भएको देखिएको छ । कास्कीस्थित ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति भएको समेत इप्पानले जनाएको छ ।
यसैगरी नुवाकोटस्थित १ सय मेगावाटको सुपर त्रिशूली जलविद्युत् आयोजनाका दुई स्काभेटर, दुई लोडर र तीन वटा टिपर बगाएको छ । बेलिब्रिज बगाएको छ भने पावर हाउस स्काभेसन पुरिएको छ ।
बाढीका कारण प्रभावित आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा त्यसको चाप प्राधिकरणको प्रणालीमा परेको छ । सोही कारण शनिबार मात्रै प्राधिकरणले भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्नुपरेको थियो ।




















प्रतिक्रिया