काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह बढ्न नसक्दा बैंकिङ क्षेत्रमा कायम अधिक तरलता व्यवस्थापनका लागि सो रकम खिच्न लागेको हो । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत ७ दिनको लागि निक्षेप बोलकबोल गर्ने भएको हो ।
यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ । यसको साँवा तथा ब्याज भुक्तानी असोज २३ गते हुनेछ ।




















प्रतिक्रिया