Logo

पत्रपत्रिका

ढुंगाखानी, क्रसर उद्योगको मनोमानीले रोशीमा बाढी, सात सय परिवार घरबारविहीन



काभ्रे । रोशी खोला आसपासमा अवैध रूपमा सञ्चालित ढुंगाखानी तथा क्रसर उद्योगकै कारण पनौती नगरपालिकाको रोशी बजारमा यस पटक बाढीपहिरोले बढी क्षति गरेको पाइएको छ ।

ढुंगाखानी उद्योगले जथाभावी उत्खनन गर्दा बाढीपहिरोको जोखिम बढेको भन्दै स्थानीयले पहिलेदेखि नै ध्यानाकर्षण गराउँदा पनि स्थानीय तहलगायतका निकायले चासो दिएका थिएनन् ।

पनौती नगरपालिकाको वडा नं १२ मा आधा दर्जन ढुंगाखानी उद्योग छन् । ‘खानीबाट निस्किने धूलो÷माटो खोलामै फालिन्थ्यो । त्यसैले खोला पुरिँदै गएको थियो ।

निरन्तर झरीले पानीको सतह बढाउँदा खोला बस्तीमा पसेर ठूलो क्षति भयो,’ रोशी बजारका एक स्थानीयले भने । उनका अनुसार ढुंगाखानी र क्रसर उद्योगका कारण रोशी खोला प्रायःधमिलो बग्ने गर्थ्यो ।

पनौती–१२ कै कलाँतीमा भने प्राकृतिक कारणबाटै पहिरो गएको उनले बताए । शुक्रबार रातिको बाढीपहिरोले पनौती नगरपालिकामा मात्र २० जनाको मृत्यु भएको छ ।

पालिकाका वडा नं १, २, ४, ७, ८, ११ र १२ का करिब ७ सय परिवार बिचल्ली बनेका छन् । वडा नम्बर १२ का मात्रै ३ सय घरधुरी विस्थापित भएका छन् ।

पनौती–१२ कलाँते, गुरुङ गाउँकी सलिना गुरुङ रोशी खोलाको डिलैडिल अगाडि लाग्दै थिइन् । तर उनले सडक कता हो ? सडकछेउमा बनेका घर कहाँ गए ? केही भेउ पाइनन् । सबैतिर खोला र ढुंगेबगर मात्रै छ ।

खोलाको बीचमा एक÷दुई वटा घरहरू ढलेका अवस्थामा थिए । मंगलबार गुरुङ गाउँ पुग्दा सलिनाले आफ्नो घर नै कहाँ थियो भन्ने मेलोमेसो पाउन सकिनन् ।

रोशी खोलामा बाढी आउन थालेपछि सलिनाले गत शुक्रबार मध्यरातमा घर छाडेकी थिइन् । घरबाट निस्कँदा शरीरमा लगाएको एकसरो कपडाबाहेक उनको साथमा केही थिएन ।

‘त्यो समयमा ज्यान जोगाउनु नै सबैभन्दा ठूलो कुरा थियो,’ उनले भनिन्, ‘रातको १२ बजे नै हामी घरमाथि जंगलको बाटो हुँदै अगाडि बढ्यौं । बाटामा पनि पहिरो खसिरहेको थियो ।

बिहानपख पनौती बजार पुग्यौं । हामी भाग्यले बाँच्यौं ।’ रोशी खोलाको बाढीले पनौती नगरपालिकाका वडा नं १, २, ४, ७, ८, ११ र १२ का करिब ७ सय परिवारलाई नै सलिनाको परिवारलाई जस्तै बिचल्ली
बनाइदिएको छ । वडा नम्बर १२ का मात्रै ३ सय घरधुरी विस्थापित भएका छन् ।

वडा नं ८ स्थित भालेश्वरबाट कलातीतर्फ जति अघि लाग्यो, त्यति नै हृदयविदारक दृश्य मात्रै देखिन्छन् । करिब १ किलोमिटर पार गरेर गुरुङ गाउँसम्म पुग्दा लगभग सबै घरमा बाढी पसेको देखिन्छ ।

दर्जनौं घर बस्नै नमिल्ने गरी भत्किएका छन् । कुनैको एक पाखा मात्रै बाँकी छ, कुनै ढल्किएर लड्नै लागेका छन् । रोशी खोलामा पानीको बहाव भने वर्षा थामिएपछि घटेको छ ।

भग्नावशेष घरमै फर्कनका लागि पनि गाउँमा धेरैको मृत्यु भएकाले त्रासदीपूर्ण अवस्था छ । पहिरोमा परेर आफ्नै अगाडि मान्छे मरेको देखेपछि गाउँलेहरू त्रसित मानसिकतामा रहेको स्थानीय दीपक तामाङ बताउँछन् ।

डरले गर्दा धेरैले गाउँ छाडेर हिँडेका छन् । ‘सुरक्षित ठाउँ खोज्दै कोही पनौती बजारतिर छन्, कोहीआफन्तकहाँ पुगेका छन्,’ उनले भने । ५२ वर्षीया सीता लामाले पहिरोको त्रासले सुरक्षितठाउँमा डेरा खोजेर बस्न थालेको सुनाइन् ।

‘ज्यान त जोगाउनैप¥यो,’ उनले भनिन्, ‘छोराहरूले अलिकति तल कोठा खोजेछन् तर बत्ती, पानी छैन ।’ मीरा केसीको घर पहिला रोशी खोलाभन्दा निकै पर थियो ।

खोलाको किनारमा सडक थियो । तर अहिले उनको घर खोलाको बीचमा छ । मंगलबार मीरा घरछेउको गोठमा बाँधेको गाईलाई दानाको जोरजाममा व्यस्त थिइन् ।

‘आफ्नो ज्यान त जसोतसो बचायौं । यी गाईबस्तुलाई कहाँ लाने ? कहाँ राख्ने ? कसरी राख्ने ?’ उनले भनिन् । काभ्रे जिल्लामा बाढीपहिरोबाट ६५ जनाले ज्यान गुमाएका छन् ।

समयमै उद्धार र उपचार नहुँदा पनि कतिपयको ज्यान गएको सम्बन्धित परिवारको गुनासो छ । बाढीपहिरोबाट धेरै मानवीय तथा भौतिक क्षति पनौती, रोशी, बेथानचोक, तेमाल गाउँपालिकामा भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार बाढीपहिरोमा परी ७१ जना घाइते भएका छन् भने ८ बेपत्ता छन् ।

स्थानीय ५२ वर्षीय वीरबहादुर लामाका अनुसार अविरल वर्षासँगै चट्याङ पनि पर्न थालेपछि गाउँमा विपत्ति आउँछ भनेर खैलाबैला भएको थियो । कलाँतीमा शुक्रबार दिउँसैदेखि नै बिजुलीबत्ती थिएन ।

रात छिप्पिँदै गर्दा झरी झनै दर्किन थालेको थियो । ‘गाउँका अगुवाले सबैलाई घरबाट निस्किएर भाग्न भन्दै थिए, त्यत्तिकैमा पहिरोले एउटा घरलाई गर्ल्याम्मै पु¥यो,’ लामाले सुनाए ।

उनका अनुसार त्यसमा पुरिएका २० वर्षका अनिश तिमिल्सनालाई जोगाउन जाँदा छिमेकी ३५ वर्षीया गीता तिमिल्सना पनि पुरिइन् । स्थानीयले अनिशलाई रातको करिब २ बजेतिर जीवितै बाहिर निकाले । तर गीताको
ज्यान बचेन, अभियान साप्ताहिकमा खबर छ ।

अनिशलाई आइतबार बिहान सेनाको हेलिकोप्टरले धुलिखेल अस्पताल लगेको थियो । ‘तर, बीचबाटोमै अनिशको मृत्यु भएको खबर पायौं,’ लामाले भने, ‘आइतबार बिहानसम्म बोलिरहेको मान्छेले ज्यान गुमायो ।’

स्थानीयका अनुसार रोशीले यति ठूलो क्षति गरेको पहिलो पटक हो । २०३६ असोज १३ मा पनि कलाँतीमा बाढी आएको थियो । त्यसका साक्षी ५४ वर्षीय गोविन्दप्रसाद हुमागाईंका अनुसार त्यसबेला क्षति भने यति धेरै भएको थिएन ।

‘मैले धेरैवटा प्रकोप भोगें । बाढीपहिरो, भूकम्प देखें । तर यस्तो विपत्ति कहिल्यै देखेको थिइनँ,’ उनले भने, ‘यस पटक बाढी र पहिरो एकैपटक ओइरियो । पहिले सानोतिनो आउँथ्यो । यस्तो पहाड खसालेर बस्ती बगाएको थाहा छैन ।’

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार ०६:००   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।