Logo

अर्थ

सञ्चालनमा आयो खुर्कोटको बेलिब्रिज, प्राविधिक र सेनालाई सम्मान



काठमाडौं । असोज दोस्रो साताको भारी वर्षापछिको बाढी-पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको छ । मंगलबारदेखि बेलिब्रिज सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन् । १२ असोजको बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरी सवारी आवागमन सुचारु गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनले सो टोलीलाई सम्मान गरेका हुन् ।

मंगलबार बीपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनाल सहितको टोलीले सडक अनुगमन गरेको हो ।

 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १५:०५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।