काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित ८ जनालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रतिनिधि सभा सदस्य मञ्जु खाँड, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँबर र ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि छानविन गर्न माग गर्दै युवराज पौडेल ‘सफल’ ले उजुरी दिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीको प्रत्यक्ष संलग्नता पुष्टि हुने निवेदकको दाबी छ । उजुरीमा भनिएको छ, ‘प्रधानमन्त्रीको हैसियतले केपी शर्मा ओलीको नैतिक एवं भौतिक रुपमा संलग्नता देखिन्छ ।
अतः निज आरोपीलाई ठगी, संगठित अपराध, मानव बेचबिखान, सरकारी कागज किर्ते र सम्पत्ति सुद्धीकरण मुद्दामा समेत अनुसन्धान गर्नुपर्ने देखिन्छ,’– उजुरीमा भनिएको छ ।
शरणार्थी प्रकरणमा अहिलेसम्म के भयो ?
मङ्सिर १५: केहीलाई पुर्पक्षमा राख्न र केहीलाई धरौटी लिई मुद्दा चलाउन उच्च अदालत पाटनको आदेश
साउन १२ : थुनामुक्त भएर मुद्धा लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता
१ असार: १६ जना आरोपितलाई थुनामा पठाउन अदालतको आदेश
१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर
८ जेठ: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो
२ जेठ : भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो
१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित
३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ
३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप
२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ
२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन
२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ
२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी
१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ



















प्रतिक्रिया