Logo

अर्थ

हवाई भाडा वृद्धिपछि पर्यटनमन्त्रीले गरे परराष्ट्र र श्रममन्त्रीसँग छलफल



काठमाडौं । अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक वृद्धि भएसँगै मेनपावर व्यवसायीहरूले सरकार गुहारेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द हुने भएसँगै हवाई भाडा बढेको छ ।

मन्त्री बद्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग छलफल गरे ।

सो अवसरमा वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको छ ।

छलफलमा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातिको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीहरूले कार्टेलिङ गरेको हुन सक्ने भन्दै वैदेशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरूले यस विषयमा सरकारले निर्मम भएर निर्णय गर्नुपर्ने बताए ।

छलफलका क्रममा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वभाविक रूपमा वृद्धि भइरहेको र यसमा एयरलाइन्स कम्पनीहरू र केही ट्राभल एजेन्सीहरूको ठूलो हात रहेको बताए ।

छलफलमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले हवाई टिकटमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको उल्लेख गरिन् । उनले पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या टुंग्याउने उल्लेख गर्दै तत्काललाई यात्रुहरूलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहल गर्न अनुरोध गर्ने समेत बताइन् ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १७:१५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।