काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उत्पादन क्षेत्रमा जोड दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघकाे आयोजनामा काठमाडौं भृकुटीमण्डपमा बिहीबारदेखि सुरु ‘फिन इलेक्ट्रो टेक २०२४’ मा उनले उत्पादन क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
‘हामीले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ (उत्पादन) हो । नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा ह्रास आइरहेको छ । यसलाई बढाउन उत्पादन क्षेत्रमा जोड दिनुपर्ने हुन्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।
अहिले स्वच्छ ऊर्जा (क्लिन इनर्जी) को आवश्यक्ता बढ्दै गएको उनले बताए । उत्पादन क्षेत्रलाई पुग्ने विद्युत उत्पादन गरेर निर्यात गर्न सक्ने अवस्था बनाउनुपर्नेमा उनको जोड छ । त्यसमा नेपालमै बनेका सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा राम्रो परिणाम आउने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका छाता संगठनले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको सिंहले बताए ।
आजदेखि सुरु फिन इलेक्ट्रो टेक २ मंसिरसम्म चल्नेछ । प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि, विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुका साथै उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदान–प्रदान गरिने छ । प्रदर्शनीमा २८ वटा स्टल र हल बाहिर पनि २६ स्टल रहने छ ।
प्रतिक्रिया