Logo

अर्थ

नेपाल आर्थिक संघ र अर्थमन्त्रीबीच भेटघाट



काठमाडौं । नेपालको विद्यमान आर्थिक अवस्थाबारे लेखाजोखा गर्ने तथा आगामी दिनमा देशको अर्थतन्त्रको लागि दिगो रुपमा सञ्चालन गर्न विभिन्न उपायहरूको खोजी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा भेटघाट सम्पन्न भएको छ ।

नेपालले आर्थिक संघ र अर्थ मन्त्रालयबीच धेरै वर्षदेखि अर्थतन्त्रसँग सम्बन्धित विषयमा विविध विषयमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउन नेपाल आर्थिक संघ तयार रहेको कुरा संघका अध्यक्ष प्राडा विश्वम्भर प्याकुरेलले बताए ।

संघले बेला बेलामा विभिन्न विषयमा सरकारलाई स्वतन्त्र रूपले सुझाव सल्लाह दिँदै आएको र आजको आवश्यकता लाई मध्यनजर गरेर, संघीय तहका साथै प्रदेश तहमा पनि समसामयिक आर्थिक मुद्दाहरुमा बुद्धिजीवी, निजी क्षेत्र र सरकारको धारणा र राज्यले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी दिन अर्थ मन्त्रालयसँग कार्यक्रम अगाडि बढाउन सकिने कुरा पनि संघका प्याकुरेलले बताए ।

साथै उनले नेपालको एक मात्र राष्ट्रिय तहको अर्थशास्त्रीहरूको छाता संगठन भएकोले नेपाल आर्थिक संघले गरेका अध्ययन-अनुसन्धान उत्पादकत्वसँग लिँक हुने हुनाले र दिगो रुपमा कार्यान्वयन गर्न सकिने हुँदा देशको वर्तमान आर्थिक अवस्था कुन मोडमा पुगेको छ भन्ने कुरा विभिन्न सरोकारवालासँग संवाद गरी अर्थ मन्त्रालयले सुरु गरेका आर्थिक सुधार साथै अन्य कार्यक्रमहरू प्रभावकारी रुपमा अगाडि बढाउन सहयोग पुग्ने कुरा बताए ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भेटमा नेपाल आर्थिक संघ अर्थशास्त्रीहरूको छाता संगठन र अर्थतन्त्र सँग सम्बन्धित विषयमा पहिले पनि सहकार्य गरेकाले सहकार्य गर्न कुनै असजिलो नहुने कुरा व्यक्त गरे ।

‘आजको अवस्थामा अर्थतन्त्रबारे सरोकारवालालाई वास्तविक अवस्थाबारे जानकारी गराउनु राम्रो हो,’ उनले भने ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ११:०४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।