काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परिवारका सदस्य गुमाएका प्रकाश खतिवडाले आज संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी दिएका छन् । उक्त घटनामा उनकी छोरी प्रिजा खतिवडा, ज्वाई मनुराज शर्मा र नाति अधिराज शर्मा अर्यालको दुःखद निधन भएको थियो ।
सप्तरीको कञ्चनरुप नगरपालिका घर भई हाल बालकोट भक्तपुर बस्ने खतिवडाले उजुरी दिएका हुन् । खतिवडाले यस दुर्घटनाको अनुसन्धानमा भएका खामिका बारेमा गम्भीर आरोप लगाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत साउन ९ गते भएको जहाज दुर्घटनाको मुख्य कारण एयरलाईन्स व्यवस्थापन पक्षको लापरवाही, प्राविधिक त्रुटि र मानवीय कमजारी भएको खतिवडाको दाबी छ । उनले यो घटनामा सरकारी आयोगको अनुसन्धान अस्वीकृत र नियोजित रहेको आरोप पनि लगाएका छन् ।
आफ्नो दाबीलाई सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको भन्दै खतिवडाले न्यायका लागि आफू एयरलाइन्स, नागरिक उड्डयन कार्यालय, पर्यटन मन्त्रालय, प्रधानमन्त्रीलगायत विभिन्न निकायमा धाएपनि छानबिन र कारबाही नभएको गुनासो गरेका छन् ।
ध्यानाकर्षण पत्रमा उनले यस्ता मागहरू राखेका छन्:
१. सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दोषीलाई कारवाही गर्ने।
२. छोरीलाई अवैध कर्मचारी बनाउने एयरलाइन्सको व्यवस्थापनको हर्कतको अनुसन्धान गर्ने।
३. निष्पक्ष आयोगको गठन गरी दुर्घटनाको पुनःजाँच गर्ने।
४. सौर्य एयरलाइन्सबाट काजकिरिया खर्च प्राप्त गर्ने।
यस घटनाले पीडित परिवारलाई गहिरो मानसिक र शारीरिक पीडा दिइरहेको छ र न्यायको लागि विभिन्न निकायमा निवेदन दिएको भएता पनि कुनै पनि समाधान नपाएको परिवारको भनाइ छ ।




















प्रतिक्रिया