Logo

अर्थ

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न



काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

सोही अन्तर्गत बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनको लागि दिने र सोमार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गर्ने गरी राउण्ड टेबल नेपाल सँग समझदारी गरेको छ ।

यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’ भन्ने परियोजनामा थप टेवा पुग्ने जनाइएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउन डस्टबिन वितरण गरेको छ । ४०० भन्दा बढी घर धुरी रहेको उक्त टोलमा स्वच्छता र हरियाली प्रवद्र्घन गर्ने उद्देश्यका साथ ५० वटा डष्टबिन वितरण गरिएको हो । बैंकको सामुदायिक सरसफाईमा योगदान पुर्‍याउने दीर्घकालिन प्रतिबद्घता अनुरुप यस किसिमको सहकार्य गरिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता स्वरुप ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृतिहरुको प्रदर्शनका साथै विभिन्न रत्नादी भएको परम्परागत आभुषणहरुको प्रदर्शन गर्न आयोजित पाटन हेरिटेज रनवे आयोजना गर्न आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

त्यसैगरी दैनिक कामकाजलाई सहज रुपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामाग्री खरिद गर्न शिव मन्दिर, बसडिलवा, सिदार्थनगर, रुपन्देहीलाई पनि बैंकले आर्थिक सहयोग गरेको छ ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार  १ : ५९ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।