काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउने गरी कार्य गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई अनुरोध गरे । सेवा विस्तारमा सक्रियताका साथ लागेको बाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाईएको बैंक बनाउन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको बताए ।
उनले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रित सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैंकका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दावी गरे ।
यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए। उनले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग बाणिज्य बैंकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए । प्रतिस्प्रर्धी बजारको माग अनुसार बैंकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैंकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले व्यजदरमा अहिले भईरहेको एकल अंकको ब्याजदरलाई स्थिर बनाउन आवश्यक रहेको बताए । यसैगरी कार्यक्रममा बुटवल उपमहानगर पालिकाको वडा नं. ४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरु पार गर्न राष्ट्रिय बाणिज्य बैंकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु, कम्पनी सचिव लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममको पूर्व संध्यामा वित्तीय साक्षरताको लागि प्रभातफेरी कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्युआर काेड सेवा, पिओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने ग्क्क्म् मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।




















प्रतिक्रिया