उपचुनावमा होमिनु अघि सबै राजनीतिक दलले भनेका थिए– आफ्नो भएको सिट जोगाउने अरु सिट थप गर्ने । यही रणनीतिमा माओवादी केन्द्र सफल देखिँदा कांग्रेसलाई पालिका अध्यक्षमा भने झट्का लागेको छ । वडा तहमा भने कांग्रेसले सन्तोषजनक नतिजा देखाएको छ ।
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसका कृष्णमान डंगोल विजयी भए। उनले कांग्रेसबाट जित्यौँ है भन्ने देखाए । दैलेखको महाबु गाउँपालिका प्रमुखमा कांग्रेसले जित दोहोर्याउन सकेन । एकीकृत समाजवादीका केन्द्रीय सदस्य रहेका जंगबहादुर शाहीलाई भित्र्याएर एमालेले दैलेखको महाबुमा जित निकालेको हो ।
गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार शाही ३ हजार १२७ मत पाएर विजयी भए । नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मत पाउँदा माओवादी केन्द्रका जंगबहादुर बराल ८४२ मतसहित तेस्रो स्थानमा रहे ।
उपचुनावमा २०७९ मा कांग्रेसले जितेका पालिका अध्यक्ष पद माओवादीले खोसेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नमोनारायण माझी निर्वाचित भएका छन् । माझी ६ हजार ९ सय ६९ मतसहित अध्यक्षमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेस उम्मेदवार बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत ल्याउँदा नेकपा (एमाले) का उम्मेदवार तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत ल्याए । कांग्रेसबाट माओवादीमा गएका माझीले जितेका हुन् ।
कांग्रेसले यसअघि जितेका पालिका उपाध्यक्ष र उपप्रमुख पनि हारेको छ । बाजुराको स्वामीखापर गाउँपालिकाको उपाध्यक्ष पद एमालेले जितेको छ । पालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी भइन् । उनले एक हजार ७४० मत ल्याएर जित निकालिन् । उनका प्रतिस्पर्धी कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार ४७४ मत ल्याइन् । एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत पाइन् । सो ठाउँमा केन्द्रको निर्देशनबमोजिम माओवादी केन्द्रबाट उम्मेदवार बनेकी राजुकुमारी विश्वकर्माले एमालेलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएकी थिइन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् । उनको निधनपश्चात् उपनिर्वाचन भएको हो । २०७९ मा जोशीले १ हजार ८१० मत ल्याएकी थिइन् । भण्डारी (अहिले निर्वाचित)ले १ हजार ६३७ मत ल्याएकी थिइन् । उनीहरूबीचको मतान्तर १७३ थियो । यहाँ माओवादीका सुरेशबहादुर रोकायाले १ हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिङ्गे विकले ४१ मत ल्याएका थिए ।
उता जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भइन् । उनले ४ हजार २७२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी इन्दा चन्द्र (सिंह)ले ३ हजार १४७ मत ल्याइन् । एमालेकी सुनिता बोहोराले २ हजार ५४२ मत पाइन् । यहाँ कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको १७ कात्तिक २०८० को भूकम्पमा परी निधनपश्चात् रिक्त पदमा उपनिर्वाचन भएको हो ।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसबाट श्यामसुन्दर तामाङ विजयी भएका थिए । हृदयाघातका कारण उनको २०८० असारमा निधन भएपछि उपचुनाव भएको हो । जारी मतगणनामा माओवादी केन्द्रकी निम लेकी शेर्पाले ८०९ मत ल्याएर अग्रता लिइरहेकी छिन् । दोस्रोमा एमालेकी उमा लुङ्गेली मगर शेर्पा ४४७ मतका साथ दोस्रो स्थानमा रहँदा कांग्रेसका उम्मेदवार पासदिकी तामाङले २४० मत ल्याएर तेस्रो स्थानमा छिन् ।




















प्रतिक्रिया