Logo

प्रमुख समाचार

गगन बन्लान् देउवाका उत्तराधिकारी ?



काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको सम्बन्ध पछिल्लो समय निकट छ ।

नेताहरूका अनुसार उनीहरूबीच बाक्लो भेटघाट भइरहन्छ भने समसामयिक राजनीति, सरकार र पार्टी जीवनका विषयमा निरन्तर छलफल हुन्छन् ।

पछिल्लो निकटताले ‘विगतमा उनीहरू फरक समूहमा रहेर एकअर्काका आलोचना गर्थे’ भन्ने तथ्यलाई नै बिर्साउँछ । त्यसैकारण इतर समूहका नेतृत्वकर्ता शेखर कोइराला थापाप्रति रुष्ट छन् ।

शक्ति आर्जन गर्ने रणनीतिका साथ जिल्ला दौडाहामा रहेका कोइरालाले थापाले मौन समर्थन गरेका केपी ओली सरकारको चर्को आलोचना गर्ने गरेका छन् । सभापति देउवा र महामन्त्री थापालाई एक ठाउँमा ल्याउने प्रमुख मुद्दा भने ‘सहकारी प्रकरण’ बन्यो ।

आफूसँगको सहकार्य तोडेर माओवादीले एमाले-रास्वपा सहितको सरकार बनाएपछि सहकारीको मुद्दालाई कांग्रेसले जोडतोडसँग उठायो । कांग्रेसमा यसको अगुवाइ महामन्त्री थापाले गरेका थिए ।

संसदीय विशेष छानबिन समितिले रास्वपा सभापति रवि लामिछानेको संलग्नता पुष्टि गरेपछि देउवाले महामन्त्री थापाको प्रशंसा नै गरेका थिए ।

थापाले १४औं महाधिवेशनअघि नै पाका पुस्ताका देउवाबाट पार्टी नचल्ने निष्कर्ष सुनाउँदै पुस्तान्तरणको बहस छेडेका थिए भने प्रधानमन्त्री बने देश चलाउन झन् नसक्ने भन्दै पार्टी संसदीय दलको नेताबाट पाखा लगाउने प्रयास गरेका थिए ।

तर, पछिल्लो समय थापा देउवाप्रति कतिसम्म लचक देखिएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले देउवालाई त्याग गर्न भन्दै गर्दा उनले भने देउवा नै भावी प्रधानमन्त्री भनिरहेका छन् ।

विगतमा नजर अन्दाजमा पर्ने गरेका महामन्त्री थापासँग सरकारमा मन्त्री पठाउने बेला देउवाले विशेष महत्वका साथ छलफल गरेका थिए ।

देउवाले अझ उनलाई नै पार्टीको नेतृत्व गरेर सरकारमा पठाउन चाहे पनि थापा गएनन् । पछि सरकारले राजदूत सिफारिस गर्दा देउवाले नै छनोट गरेर पठाएका राजदूतका विषयमा थापा निकटका नेताहरू मौन रहनुले पनि उनीहरूबीचको निकटता झल्काउँछ ।

देउवा-थापा नजिकिएकोबारे महामन्त्री थापा निकट कांग्रेसका एक युवा नेता भन्छन्, ‘सभापतिजीले आफ्नै महामन्त्रीलाई विश्वासमा लिनुपर्छ । सभापति पार्टीको शिर हो भने महामन्त्री मुटु हो । त्यो कुरा उहाँले बुझ्नु भएको देखिन्छ ।’

सभापति देउवा र महामन्त्री थापाबीचको यो निकटतालाई विभिन्न कोणबाट विश्लेषण हुने गरेका छन् । यसलाई खासगरी कांग्रेसको आसन्न १५औं महाधिवेशनसँग जोडेर हेर्ने गरिएको छ । तोकिएकै मितिमा कांग्रेसको १५औं महाधिवेशन भए २०८२ मंसिरमा हुनेछ ।

लगातार दुई कार्यकाल नेतृत्वमा रहिसकेका देउवाले विधानतः अब फेरि सभापतिका लागि प्रतिस्पर्धा गर्न पाउँदैनन् । सोही कारण पार्टीको नेतृत्व कोइराला परिवारमा जान नहुने देउवाको चाहना र त्यसैको लाभ लिदै नेतृत्व हत्याउने महामन्त्री थापाको दाउले उनीहरू नजिकिएका विश्लेषण राजनीतिक वृत्तमा छ ।

त्यसो त आफ्नो उत्तराधिकारीका रूपमा देउवाले महामन्त्री थापालाई अघि सार्ने सम्भावना प्रबल हुँदै गएको हो ? राजनीतिक विश्लेषक चन्द्रकिशोर देउवाले थापालाई उत्तराधिकारी स्वीकार गरिहाले भन्न अहिले नै हतार हुने बताउँछन् ।

‘अहिले गगन र देउवा दुई व्यक्ति मात्र होइनन्, दुई पदाधिकारी पनि हुन् । सुरुवातका दिनमा सभापति भर्सेस महामन्त्री भए । त्यसकारण पनि कांग्रेसको आन्तरिक संगठन शिथिल हुन पुग्यो ।

तर, पछिल्लो समय दुवैमा मिल्न सक्ने कुरामा र पार्टीको बृहत्तर हित हुने विषयमा मिलेर जानुपर्छ भन्ने आत्मबोध भएको देखिन्छ’, उनी भन्छन्, “भावी नेतृत्वका सन्दर्भमा चाहिँ महाधिवेशनको सन्निकटमा दुवैले आ-आफ्ना तुरुप खोल्लान् । अहिल्यै भन्न सकिन्न ।’

राजनीतिक अध्येता पीताम्बर भण्डारी पनि सभापति देउवा र महामन्त्री थापाको अहिलेको मिलनलाई भावी नेतृत्वसँग जोडिहाल्न नमिल्ने ठान्छन्, खबर राष्ट्रवाणी साप्ताहिकमा छ ।

तर, पार्टी जीवनका समस्यालाई समाधान गर्ने खुबी प्रदर्शन गर्दै गएको अवस्थामा पार्टीमा थापाको स्वीकार्य बढ्दै जाने उनी बताउँछन् ।

‘सभापति देउवा र महामन्त्री थापाबीच केमेस्ट्री मिल्दै गएको देखिन्छ तर यसैलाई लिएर महाधिवेशनमा आफ्नो उत्तराधिकारी नै बनाउने गरी सभापति अहिल्यै तयार भए भन्न चाहिँ सकिंदैन’, उनी भन्छन्, ‘तर पार्टीका समस्यालाई सर्वस्वीकार्य हुने गरी समाधान गर्ने जुन खुबी छ, यसलाई थापाले आफ्नो हिसाबले पुँजीकृत गर्नुभयो भने त अरू पनि उहाँलाई सहयोग गर्न बाध्य हुन्छन् नि त !’

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार ०९:५८   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।