काठमाडाैं । लक्ष्मी सन्राईज बैंकको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. बीच लमजुङ्ग जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण हुने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।
यो परियोजना कुल रु २१.४० अर्ब लागतको हुनेछ । यस सहकार्यले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । अप्पर मर्स्याङ्दी हाइड्रोपावर–१ को विद्युत उत्पादनको अनुमति पत्र २०७५ सालको पौष १० गते प्राप्त भएको थियो । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता २०८१ सालको पौष ०९ गते सम्पन्न भएको छ ।
सो परियोजनाको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सह-वित्तीयकरणमा सहभागी बैंकहरुले ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक र संस्थापकहरुको लगानी रहनेछ । लक्ष्मी सन्राईज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ । सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु, ग्लोबल आइएमइ बैंक र प्रभु बैंकका बीचमा क्रमशः ६ अर्ब र ३ अर्बका लगानीहरु हुनेछन् ।
यो आयोजना २०२९ सालभित्र निर्माण सम्पन्न भएर विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । परियोजना सञ्चालनमा आएपछि यसले वार्षिक करिव ५८३.०३ गिगावाट आवर ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ र यो एक प्रमुख स्वतन्त्र उर्जा उत्पादकको रुपमा स्थापित हुनेछ ।




















प्रतिक्रिया