Logo

अर्थ

उद्योग संगठनले माघ ११ देखि विराट एक्स्पो गर्दै



विराटनगर । उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म विराटनगरको डिग्री कलेजको मैदानमा आठौं संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको छ ।

यस एक्स्पोको नाम ‘एक्स्पो २०२५ डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट मोडल’ राखिएको छ ।

यस एक्स्पोमा उद्योगीहरूले आफ्नो उत्पादन र व्यापारीहरूले व्यापारका वस्तुहरू उपभोक्तासामु प्रदर्शित गर्नेछन् । संगठनका अध्यक्ष राकेश सुरानाले एक्सपोमा खरिद बिक्रीको पनि संभावना रहेको भन्दै एक्स्पोले अनुमानित लक्ष्य नराखेको बताए ।

संगठनले २०५३ सालमा कोशी महोत्सवको नाममा पहिलो एक्स्पो आयोजना गरेको थियो । २०८१ मा आठौं संस्करणसम्म आइपुग्दा विराट एक्स्पो देशको अन्तर्राष्ट्रिय स्तरका औद्योगिक एक्स्पोहरूको बीचमा एक छुट्टै ब्राण्डको रूपमा स्थापित भएको छ । यस एक्स्पोमा उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान गर्न, उद्यमी र व्यवसायीलाई नयाँ प्रविधिको पहिचान र व्यवसायिक सम्बन्धहरूको विकासमा मद्दत पुग्नेछ ।

पछिल्लो संस्करणमा कृषि, औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगै आर्थिक र औद्योगिक क्षेत्रमा केन्द्रित शेमिनारहरू आयोजना गरिएको थियो । यस संस्करणमा नवप्रवर्तन प्रोत्साहन गर्न स्टार्टअप पेभिलियन, रोजगार पेभिलियन, पर्यटन प्रवर्धनका लागि पर्यटन पेभिलियन र लगानी पेभिलियन राखिनेछन् । यसका अतिरिक्त, युवापलायनको समस्या समाधान गर्न स्वदेशमै रोजगारका अवसरहरू बढाउने उद्देश्यले युवालाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरू समावेश गरिनेछन् ।

एक्स्पो संयोजक भोलेश्वर दुलालले यसमा विशेष गरी युवाहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले डिजीटल प्रविधिमा आधारित कार्यक्रमहरू समावेश गर्ने बताए ।

यसमा करियर काउन्सिलिङ, ए.आई. कन्फ्रेन्स, स्टार्टअप भिजन कोशी हाकथन, रोजगार कोशी पेभिलियन, डिजिटल पेभिलियन, बिजनेश क्लिनिक जस्ता विशेष आकर्षणहरू रहनेछन् । कृषि, पर्यटन, खाद्य, स्वास्थ्य, शिक्षा, अटोमोबाइलका साथै उद्यमशीलता विकासका सबै प्रकारका व्यावसायिक विकास सेवाहरू पनि प्रदर्शन गरिनेछ ।

विद्यार्थीहरूका लागि विशेष कार्यक्रमहरू पनि राखिनेछन् । एक्स्पोमा विद्यार्थियोंका लागि गाइडेड टूर र विभिन्न पेभिलियनहरूको अवलोकन गराइनेछ । यसका साथै, ५ वटा कलेजका ५०-५० जना विद्यार्थीहरूलाई एक्स्पोको समग्र जानकारी दिने कार्यक्रमको आयोजना गरिनेछ ।

प्रकाशित मिति : २२ पुष २०८१, सोमबार १५:४५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।