Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न

‘संस्थागत सुशासन राष्ट्रिय वाणिज्य बैंकको पहिलो प्राथमिकता’



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न सभामा गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

सभामा बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै जाने बताए । उनले प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेको जानकारी गराए ।

बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना गर्न बैंकले आफ्नो प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै समय सान्दर्भिक कार्य पद्धतिको विकास गर्ने उद्देश्यले बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरूमा समय सापेक्ष परिमार्जन गर्दै आएको उनको भनाइ थियो ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण शेयरधनीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदन माथि शेयरधनीहरुले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारणा राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिएका थिए ।

उक्त साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, सुशील घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू विमल डङ्गोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापाको उपस्थिति रहेको थियो । साधारण सभामा बाह्य लेखापरीक्षक, बैंकका कानूनी सल्लाहकारहरू लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । साधारणसभालाई कम्पनी सचिव प्रमोद अधिकारीले सहजीकरण गरेका थिए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रकाशित मिति : २९ पुष २०८१, सोमबार १५:२७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।