काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार टिकिराखोस् भन्ने चाहना नरहेको स्पष्ट पारेका छन् ।
सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटेमा मंगलबारदेखि सुरु हुने राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न आएका उनले प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले गरेको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा पार्टी अहिले नै सरकार गिराउने र सरकारमा जाने अभ्यासमा नरहेको दाबी गरे ।
विपक्षी दलहरूको तर्फबाट सदनको बैठक तत्काल बोलाउन आफूहरूले निरन्तर दबाब दिइरहेको पनि जानकारी गराए । उनले भने, ‘यो सरकार निरीह, कमजोर र गैरजिम्मेवार हो । हामी सदनबाटै लोकतान्त्रिक तरिकाले विधेयकहरु अघि बढोस् भन्ने चाहन्छौं। सदन बोलाउन हामी विपक्षीहरुले ज्ञापनपत्र पनि बुझाइसकेका छौं ।’
उनले कांग्रेसको संस्थापन पक्षका नेताहरूमा पनि असन्तुष्टि बढ्दै गइरहेकाले यो सरकार लामो नजाने जिकिर गरे ।
उनले भने, ‘यो अप्राकृतिक भनेपछि यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन । तर, हामी अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ । हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन । घटनाक्रम तपाईंहरूले देखिराख्नुभएको छ ।’
प्रतिक्रिया