Logo

प्रमुख समाचार

ऊर्जामन्त्री दीपक खड्कामाथि मन्त्रालयमै हातपात



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो ।

मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो । ‘एक व्यक्तिले दुर्व्यवहार गरेको हो । सामान्य घटना भएको हो । गोरखाको पोखरेल थरका व्यक्ति रहेछन् । मानसिक समस्या भएको व्यक्ति रहेछ,’ मन्त्री खड्काले घटनाबारे जानकारी दिँदै भने, ‘सुरक्षाकर्मीहरूले उक्त व्यक्तिलाई समातेका थिए । मानसिक समस्या भएको व्यक्ति भनेपछि छोड्न भनेको हूँ ।’

घटना हाे, पुस २६ गते शुक्रबारको । याे घटनाबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार (माघ ३ गते) कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा भनेपछि सार्वजनिक भएको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार खड्काले आफ्नो कुरा राख्ने क्रममा सुरक्षाको विषय उठाएका थिए । मन्त्री खड्काले बैठकमा भनेका थिए, ‘गत शुक्रबार एक व्यक्तिले ममाथि मन्त्रालयमा नै दुर्व्यवहार गरेको थियो । गोरखाका एक पोखरेल थरका व्यक्तिले मन्त्रालयभित्रै ममाथि दुर्व्यवहार गरे ।’

त्यसपछि गृहमन्त्री रमेश लेखकले आफूलाई उक्त कुराको जानकारी किन नगराएको ? भनी खडकालाई प्रश्न गरेका थिए । लेखकले सोधेपछि मन्त्री खड्काले ‘घटना सामान्य भएकाले खबर नगरेको’ भन्ने जवाफ फर्काएका थिए । गृहमन्त्री लेखकले भने आफूमाथि हातपात भएको घटनाको बारेमा मन्त्रीले नै झन्डै हप्तादिनसम्म किन लुकाएको ? भनी प्रश्न गरेको बैठकमा सहभागी अर्का मन्त्रीले बताए ।

त्यसरी आक्रमण गर्ने व्यक्तिको नाम आफूलाई थाहा नभएको बताएका खड्काले ती व्यक्तिले गोरखामा गत निर्वाचनमा उम्मेदवार रहेको र पोखरेल थरको भएको मात्रै आफ्नो स्मरणमा रहेको बताए ।

सिंहदरबार सुरक्षामा खटिएका प्रहरी स्रोतका अनुसार मन्त्री खड्कामाथि हातपात गर्ने व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका-५, मुच्चोकका हरि पोखरेल हुन् ।

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  ९ : २५ बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।