Logo

अर्थ

सुप्रिम सहकारी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर



रुपन्देही । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार जिल्ला अदालत रुपन्देहीमा मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालयका अनुसार यो प्रकरणमा संगठित रुपमा ठगी भएको ठहर गर्दै ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने यो ठगी प्रकरणका प्रतिवादी हुन् । लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

अनुसन्धानका क्रममा लामिछानेको नाममा गएको २ करोड रुपैयाँको भौचर समेत बरामद भएको छ । यो रकम २०७७ चैत १८ मा स्वीकृत भएको र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंक खातामा जम्मा भएको खुलेको छ ।

सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । सुप्रिमका १,८३१ बचतकर्ताले ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँको हिनामिना भएको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा छ । लामिछाने बिहीबार ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

प्रकाशित मिति : माघ ६, २०८१ आईतबार  २ : ०७ बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।