Logo

अनलाइनपाना खोज

राष्ट्र बैंकको फितलो बैंक सुपरिवेक्षण : डेपुटी गभर्नर ढुंगाना र प्रमुख पौडेलको कार्यक्षमातामाथि प्रश्न



काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको काम कारबाहीका बिषयलाई लिएर निकै चर्चा परिचर्चा हुन थालेको छ। डेपुटी गभर्नर डा. निलम ढुंगानाको मातहतमा रहेको यस विभागको जिम्मेवारी र यसका प्रमुख रामु पौडेलको कार्यशैलीका कारण बैंकसुपरिवेक्षण विभाग विवादमा समेत तानिंदै आएको छ।

नेपाल राष्ट्र बैंकले यस क्षेत्रको निगरानीका लागि बैंकभित्र छुट्टै बैंक सुपरिवेक्षण विभाग खडा गरेको छ । हाल बैंक सुपरिवेक्षण विभाग प्रमुखमा कार्यकारी निर्देशक रामु पौडेल छन् । तर उनको असक्षमता, अदूरदर्शीता र खराव प्रदर्शनका कारण बैंक सुपरिवेक्षण निकै कमजोर हुँदै गएकाले बैंकहरुको मनोमानी बढेको ग्राहकहरुको गुनासो छ । राष्ट्र बैंकको फितलो सुपरिवेक्षणका कारण बैंकमा मनपरी गैर कानूनी कारोबार तथा नियमविपरितका गरिविधी  मौलाउन थालेको छ । चाकडी, चाप्लुसी नातावाद र बैंकबाट प्राप्त हुने न्यानो पारिवारिक आतिथ्यसत्कारका कारण सुपरिवेक्षण विभाग आँखा बन्द गरी कानमा तेल हालेर बसेकाले यस्ता गतिविधीमा ध्यान दिन सकेको अवस्था छैन ।

केहि समय अघि नेपाल राष्ट्र बैंकका उच्च पदस्थहरुविचको विवाद सतहमा आयो । नगरकोटमा भएको एक ककटेल पार्टीमा नसाले मातेर  मस्त भएपछि राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगानामाथि जुनियर कर्मचारी थानेश्वोर आचार्यले दुर्व्यवहार गरेको भन्ने हल्लाले समग्र  बजार नै तात्यो ।

बैंक तथा वित्तीय संस्थाको  नियामक निकायका जिम्मेवार कर्मचारीले नै गैरजिम्मेवार हर्कत गरेपछि राष्ट्र बैंकको गरिमा र यसको साख केहि हदसम्म गुम्यो । यसै क्रममा बैंक सुपरिवेक्षण सम्हालेकी गभर्नर  ढुंगानाको मातहतको जिम्मेवारी खोसेर गभर्नर महाप्रसाद अधिकारीले आँफैसँग राखेपछि राष्ट्र बैंकमा आरोप प्रत्यारोप सुरु भयो र अन्तत उक्त विभागको प्रमुखमा रामु पौडेललाई ल्याईयो ।

पौडेल सुपरिवेक्षणको प्रमुख भएपछि पुन: यो विभाग डेपुटी गभर्नर ढुंगानाकै मातहतमा सारियो । जबकी पौडेललाई यस विभागको पूर्ण जानकारी समेत नभएकोले सिक्दै गरेको उनले आँफै स्वीकार गर्दै आएका छन् ।

बैंक सुपरिवेक्षण विभागमा बैंकविरुद्दका ग्राहकका दर्जनौं उजुरी तथा गुनासोहरु दर्ता भएका छन् । तर ती गुनासो र उजुरीको सम्बोधन नै नभएको ग्राहकको गुनासो छ भने कतिपय उजुरी त सुपरिवेक्षण विभागले लिन सम्म अस्विकार गर्ने गरेको गुनासो पनि छ ।

त्यस्तै, आँफैले नेतृत्व गरेको गरिमामय संस्था र आँफै मातहतमा रहेका विभागका जुनियर कर्मचारीका बिषयमा आफ्नो स्वार्थ अनुकुन हुने गरी अनावश्यक भ्रम फैलाउंदै हिंड्ने डेपुटी गभर्नर ढुंगानाकै मातहतमा सुपरिवेक्षण विभाग रहेकाले पनि उनीहरुको नेतृत्वलाई बैंक वित्तीय संस्थाले पत्याउन र राष्ट्र बैंकले दिएका निर्देशन  टेर्न छाडेका छन् । जसले गर्दा बैंक सुपरिवेक्षण चुस्त र प्रभावकारी बन्न सकेको छैन ।

समस्याग्रस्त अर्थतन्त्र सुधारको लागि नेपाल राष्ट्र बैंकको व्यवस्थपकिय भूमिका ज्यादै महत्वपूर्ण हुन्छ । बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक सचेत भएर जिम्मेवारपूर्वक काम गर्नुपर्नेमा व्यवस्थापनका नेतृत्व नै व्यक्तिगत समस्या, आरोप प्रत्यारोप तथा एक अर्काबीच प्रतिशोध साध्नमा व्यस्त छन् ।  बैंकको उच्च व्यवस्थापनमा देखिएको गलत प्रवृति र गैरजिम्मेवार पात्रका कारण  केहि समययता नेपाल राष्ट्र  बैंक आँफै विवादमा तानिइरहेकोले पनि बैंक सुपरिवेक्षण निकै कमजोर बनिरहेको अवस्था छ ।

बैंक तथा वित्तीय संस्थालाई अनुशासनमा राख्न तथा वित्तीय कारोवारलाई पारदर्शी एवम् स्वस्थ प्रतिस्पर्धात्मक बनाउन नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागको भूमिका निकै महत्वपूर्ण मानिन्छ । निष्पक्ष एवम् चुस्त नियमन, निरीक्षण तथा सुपरिवेक्षणले बैंक वित्तीय संस्था बिधी र प्रकृया भन्दा बाहिर जान सक्दैनन् जसका कारण उनीहरु निर्धारित समयमा अपेक्षितलक्ष्य हासिल गर्न सफल हुन्छन् ।

तसर्थ, प्रतिस्पर्धी वित्तीय बजारको विकासको लागि नेपाल राष्ट्र बैंकले निरीक्षण तथा सुपरिवेक्षण क्षमताको विकाससँग सँगै यसको सुदृढीकरणमा समेत उत्तिकै ध्यान दिन जरुरी हुन्छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन नियम, कानून तथा यसको नियमनका लागि जारी गरिएका निर्देशनहरुको पूर्ण पालना गराउन र वित्तीय संस्थाहरुमा प्रभावकारी व्यवस्थापन तथा नियन्त्रण प्रणालीको विकास गराउन नसक्दा बैंकहरु दिनप्रतिदिन धरासायी बन्दै गईरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै हुँदा नियमनमा समस्या आएको भन्दै नेपाल राष्ट्र बैंकले पुँजी बढाएर बैंक संख्या घटाउन अन्धाधुन्ध बैंकहरुबीच मर्जर गराउँदा खराव कर्जाको अनुपात बढेर अधिकांशको ५ र एनपीए इन्ड्रष्ट्री लेभल भन्दामाथि पुगेको छ । बजारमा अत्याधिक लगानीयोग्य रकम हुँदा समेत कर्जा प्रवाह सून्यजस्तै भएको जटिल अवस्थामा देशको अर्थतन्त्रको महत्वपूर्ण अंग नेपाल राष्ट्र बैंकसँग समेत सुधारको स्पष्ट नीति छैन । जसका कारण वित्तीय क्षेत्रमा अन्योलपूर्ण वातारणको स्थिति छ ।

बैंक तथा वित्तीय संस्थाको स्थलगत निरीक्षण गरी सुपरिवेक्षण प्रतिवेदनका आधारमा वित्तीय संस्थाको नियमित अनुगमन तथा निरीक्षण गरी प्रतिवेदनमा औल्याइएका कैफियतहरु सुधार गराउने, निर्देशन दिने र नियतवस गरिएका संवेदनशील एवम् गम्भीर प्रकृतिका अपराध भए त्यस्ता वित्तीय संस्थाका संचालक समितिका पदाधिकारी तथा कार्यकारी प्रमुखहरुलाई दण्ड जरिवाना गराउने नेपाल राष्ट्र बैंकको दायित्व होख। तर पछिल्लो समय बैंक सुपरिवेक्षण प्रभावकारी नहुँदा एकातर्फ मुलुकको आर्थिक विकासका लागि वित्तीय क्षेत्रले खेल्ने भूमिकामा संकुचन आउन थालेको छ भने अर्कोतर्फ निक्षेपकर्ता तथा स्वयं संस्थाले समेत विभिन्न किसिमका अनपेक्षित समस्या र चूनौतीको सामना गर्नुपरेको छ ।

पछिल्लो समय राष्ट्र बैंकको निरीक्षण र सुपरिवेक्षण फितलो भएपछि केन्द्रिय बैंकले आचारसहिंता नै जारी गरेको छ । ठूला बैंकहरुको आन्तरिक शुसासनमा समस्या देखिएको निरिक्षणमा जाने निरिक्षक र सुपरिवेक्षकका लागि आचारसहिंतामा उपहार लिन नपाउनेदेखि कर्जामा छुट नमाग्न समेत निर्देशन दिइएको छ । त्यस्तै, निरीक्षक तथा सुपरिवेक्षकले दोस्रो बजारबाट बैंक तथा वित्तीय संस्थाको सेयर किन्न नपाउने, कर्जामा छुट माग्न वा कुनै किसिमका उपहार लिन नपाउने लगायतको व्यवस्था आचारसहिंतामा लागू गरिएको छ । तर यो नियम समय सुपरिवेक्षण विभागले अवलम्बन गर्न सकेको छैन ।

बैंक सुपरिवेक्षणका प्रमुख नै आफ्ना परिवार र नातागोताको समेत खर्च पिटाएर बैंकको ककटेलमा सहभागी भएपछि सुपरिवेक्षण निष्पक्ष कसरी हुन्छ ? यो केन्द्रिय बैंकले जारी गरेको सुपरिवेक्षण आचारसहिंताभित्र पर्छ या यसको बर्खिलाप हुन्छ यो सम्बन्धित अघिकारीले जवाफ दिऊन् ।  यस सम्बन्धमा उनको धारणा बुझ्न हामीले ढुंगाना र पौडेल दुवैलाई सम्पर्क गर्यौ तर उनीहरु सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आईतवार २२:५४   :  बजे

10.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।