काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ९.७१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२७ प्रतिशत घटेको छ । यस अवधिमा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३.५० प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७३ करोड २६ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी सामान्य घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढेको हो ।
२४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ६५ करोड १३ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४१ पैसा बढेर ९ रुपैयाँ ५५ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२२ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया