रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुपन्देही जिल्ला अदालतमा बहस सकेका छन् । उनले जाहेरीकर्ताको तर्फबाट बहसमा भाग लिएका हुन् ।
त्रिपाठीले यसअघि काठमाडौं जिल्ला अदालतमा पनि रविविरुद्ध बहस गरेका थिए । बहस सकेर निस्किँदा उनीमाथि हातपात भएको थियो । सो घटनामा तीजना पक्राउ समेत परेका छन् ।
त्रिपाठी बहसका लागि हिजै रुपन्देही आएका थिए । आज सरकारी वकिलहरुको बहस सकिएपछि उनले पालो पाएका हुन् । जाहेरीवालाका तर्फबाट अर्का वकिल सुरेन्द्र भण्डारीले बहस गर्ने छन् ।
आफ्नो बहसका क्रममा त्रिपाठीले रवि लामिछानेलाई थुनामा पठाउनैपर्ने माग गरे । स्रोतका अनुसार उनको बहसमा न्यायिक भन्दा राजनीतिक भाषा थियो । उनले सहकारी प्रकरणलाई राजनीतिको अपराधीकरणका रुपमा अथ्र्याए । ‘स्मार्ट ठगी’ को संज्ञा दिए ।
रविप्रति आक्रोश पोख्दै त्रिपाठीले भने, ‘प्रबन्ध सञ्चालक भनेको संस्थाको माइन्ड हो । सहकारीको पैसा उहाँकोमा आएको छ । तर उहाँले थाहा छैन भन्नु हुन्छ । यस्तो पनि हुन्छ ?’
त्रिपाठीले आफूमाथि भएको हातपातको प्रसंग पनि निकालेका थिए । रास्वपा कार्यकर्तातर्फ ईंगित गर्दै उनले न्यायिक प्रक्रियामा वाधा पुर्याउने काम भइरहेको आरोप लगाए । आफूमाथि हातपात भएको घटनामा काठमाडौं जिल्ला अदालत नबोलेको भन्दै गुनासो पोखे ।
‘न्यायमा निरन्तर अवरोध गर्नुभएको छ । कहिले विज्ञप्ति निकालेको छ, कहिले सांसदहरु नै आन्दोलनमा उत्रेका छन् । न्यायाधीशको फोटोसहित प्रचार गरियो । बहस गर्ने वकिललाई गालीगलौज गरियो । काठमाडोंमा त मलाई आक्रमण नै भयो । तर आदेश गर्दा अदालतले नोटिसमै लिएन’, त्रिपाठीले भने ।
उनले रवितर्फ तिर सोझ्याउँदै भने, ‘जीबी राईलाई गृहमन्त्री हुँदा किन ल्याउन सक्नु भएन ? जीबी आए भने आफ्नो अनुहार सार्वजनिक हुन्छ भनेर ?’ ‘२१ सिट संसदमा छ । साइबर सेना छ । वकिलको ट्रोल गरिन्छ भने पीडितको हकमा के गर्लान् ? उनीहरु अदालत प्रतित्रयामा कसरी सहभागी हुन सक्लान् ?’
रवि गृहमन्त्री हुँदा मुद्दा नचलेको र अनुसन्धान अधिकृतको सरुवा भएको उनले आरोप लगाए । प्रधानमन्त्री र महानिरीक्षकले पनि गलत जानकारी दिएको उनको दावी थियो ।त्रिपाठीले भने, ‘कार्यपालिका त प्रभावमा पर्यो, न्यायपालिकाले पनि…।’
प्रतिक्रिया