काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का केन्द्रीय अध्यक्षद्वय राजेन्द्र लिङदेन र कमल थापाले जुँगे घमण्ड देखाएका छन् ।
गत शनिवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको गृह नगर हेटौंडा पुगेर अब राप्रपा कुनै दलसँग एकीकरणको चरणमा नरहेको बताएपछि थापाले आइतबार सामाजिक सञ्जाल मार्फत आफूहरू कमजोर भएर पार्टी एकताको पहल नगरेको स्पष्टिकरण दिए ।
थापाले विभिन्न फोरममा राजेन्द्र लिङ्देनले चाहेमा एक हप्तामा नै दुवै राप्रपा एकीकरण हुने अभिव्यक्ति दिएपछि लिङ्देनले हेटौंडामा भएको कार्यक्रम मार्फत अहिले राप्रपा कुनै दलसँग एकीकरणको लागि खुला नभएको स्पष्ट पारेका थिए ।
त्यसपछि थापाले एकताको कुराले आफू कमजोर भएको भन्ने भ्रम नपाल्न सन्देश दिएका हुन् ।
लिङ्देनले हेटौंडा आएर भनेका थिए ‘तपाईंहरू ढुक्क हुनुस्, अब राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन, अहिले सिङ्गो एकीकृत राप्रपा छ ।
अब कोहीसँग एकीकरण हुने भन्ने बजार हल्लाको पछाडि राप्रपा लाग्दैन ।’
पहिले पहिले राप्रपामा कोही सूर्यबहादुर पक्ष, कोही लोकेन्द्रबहादुर चन्द पक्ष हुने गरेको भन्दै अध्यक्ष लिङदेनले भने, ‘त्यसपछि कोही जबरा पक्ष, कोही थापा पक्ष भए, तर अहिले राप्रपामा सबै राप्रपा पक्ष मात्र छन् ।’
लिङ्देनले अभिव्यक्ति दिएको दुई दिनपछि थापाले सामाजिक सञ्जालमार्फत अहिले सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताएका खबर करेन्ट साप्ताहिकमा छ ।
उनले लेखेका छन् “मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौं भनेर होइन ।
हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिऊँ, भनेर हो । यो समय फेरि नआउन सक्छ ।”
प्रतिक्रिया