काठमाडौं । कहिले काहीं राजनीति रोचक सञ्जोगबाट अगाडि बढ्छ । जस्तो, गत साता काठमाडौंमा एउटा त्यस्तै रोचक संजोग बन्यो ।
अर्थात् एकैदिन एमाले र माओवादीको केन्द्रीय समितिको बैठक बस्यो । र, एकैदिन सकियो । रोचक के भने, दुवै पार्टीका बैठकमा उनीहरूले मनग्गे एकअर्काको कुरा गरे ।
कुरा गर्नु स्वाभाविक पनि हो, किनभने यी पार्टीहरूको सम्बन्धको आफ्नै ऐतिहासिक सिलसिला र उतारचढाव छ । जो, कहिले तीव्र अन्तरविरोधको चरणबाट अगाडि बढ्छ ।
कहिले उत्साहजनक एकताको पखाल चढ्छ । र, फेरि अन्तरविरोधको नयाँ सिलसिलामा आइपुग्छ ।
सत्ताको नेतृत्वकर्ता र प्रमुख प्रतिपक्ष- दुवै दलको बैठक एकैदिन प्रारम्भ भई एकैदिन समाप्त हुनुले धेरैको ध्यानाकष्ट भयो ।
यसै मेसोमा केही मानिसहरूले यी दुई कम्युनिस्ट पार्टीका नीति, सिद्धान्त, सवाल, कार्यशैली र तौरतरिकामा रहेका भिन्नता र मौलिकताका बारेमा जमेर चर्चा गरे । यो लेखमा तिनै चर्चाहरूको संश्लेषण गरिएको छ ।
के देखियो भने, मदन भण्डारीले जबज मार्फत लोकतन्त्रीकरण गरेको कम्युनिस्ट पार्टी एमालेभित्र आन्तरिक लोकतन्त्र संकुचित हुँदै जानु र फौजी संगठनबाट आएको माओवादी लोकतन्त्रीकरणतर्फ जानु आफैमा रोचक परिघटना थियो ।
किन यसो भनिएको हो भने, एमालेको बैठकमा पार्टी अध्यक्ष खड्गप्रसाद ओली स्वयंले अनुशासनका नाममा आलोचना र प्रश्नलाई बन्देज गर्ने मनसाय देखाए भने माओवादीहरू, उदार बन्दै गएको देखियो ।
जस्तो कि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधनका क्रममा भने- ‘बडो विचित्रको संयोग भन्न सकिन्छ ।
हामीले जुन दिन केन्द्रीय समिति बैठक शुरु गर्यो, त्यही दिन अर्को एउटा पार्टी एमालेले पनि बैठक सुरु गयोर । यी दुई पार्टी, दुई बैठक र दुई कार्यदिशालाई मानिसले पक्कै पनि तुलना गरेर हेरिरहेका होलान् । दुई प्रवृत्तिको भिन्नतालाई जनताले हेक्का राखेकै होलान ।’
प्रचण्डले अझै अगाडि भने- ‘एउटा पार्टीमा नेताहरूको आलोचना गरेकै भरमा अनुशासनको इन्डा चलाएर कारवाही गर्ने, झन्डै ४५ वर्ष पार्टीमा योगदान गरेको नेतालाई निष्कासन गर्ने विधिद्वारा नोकरशाही केन्द्रीयता र तानाशाही प्रभुत्व व्यवस्थापनको कोसिस गरियो ।
हाम्रो पार्टीमा मतहरूको सम्मान गर्ने, आएका मतलाई देशैभरि परामर्शमा लैजाने, छलफलको खुलस्त वातावरण बनाउने, सहमति र समझदारी बनाउने कोसिस भयो । श्रमिक वर्गले आज यी दुईको तुलना गरेर हेरिरहेको छ ।’
वास्तवमै प्रचण्डको भनाइ अर्थपूर्ण थियो र त्यसले दुई पार्टीबीच आन्तरिक लोकतन्त्रलाई कसरी हेरिंदै छ भन्ने छलंग देखिन्थ्यो । यो बैठकमा एमाले नेतृत्वको संकीर्णता आफैमा आश्चर्यजनक थियो ।
उसले पार्टीभित्र प्रश्नहरूलाई नियोजन गरेको मात्र देखिएन, उल्टो धेरै नबोल्न उर्दीसमेत जारी गरेको थियो । राष्ट्रिय राजनीतिमा पनि एमालेले दुई दलीय लोकतन्त्रको पक्षपोषण गरिरहेको देखिन्थ्यो र त्यसैका लागि संविधान संशोधन गर्नुपर्ने उसको प्रस्ताव थियो।
एउटा लोकतान्त्रिक कम्युनिस्ट पार्टी कसरी तानाशाही औजार बन्छ त्यसको एमाले उदाहरण बन्दै थियो भने यो बैठकमा माओवादीले ‘बहुदलीय लोकतन्त्र’ को सच्चा हिमायती भएर उभिने हिम्मत गरेको देखियो ।
त्यसैले नै माओवादी केन्द्रको प्रतिवेदनमा भनिएको थियो- एमाले-कांग्रेस गठबन्धन सरकारको संविधान संशोधनको उद्देश्य ‘संघीयतालाई कमजोर पार्नु, बहुदलीय प्रतिस्पर्धायुक्त लोकतन्त्रलाई दुई दलीय तानाशाहीतिर लैजानु, समावेशी र समानुपातिक प्रतिनिधित्व कमजोर पार्नु, निर्वाचन प्रणालीलाई दलाल पुँजीपति र विचौलियाहरूको हितमा लैजानु’ देखिन्छ ।
त्यसको साटो ‘जनतालाई थप अधिकार सम्पन्न बनाउने, लोकतन्त्रलाई सुदृढ गर्दै समाजवादको आधार तयार गर्ने उद्देश्यका साथ संविधान संशोधनमा जोड दिन आवश्यक छ । यहाँनेर स्मरणीय कुरा के छ भने राष्ट्रिय सभामा माओवादीको सिट संख्या र भूमिकाकै कारण ‘दई दलीय प्रणाली र कांग्रेस-एमालेको सहजता अनुकूल’ हुने गरीको संविधान संशोधनको प्रयास असफल हुने भएको छ ।
र, यो यथार्थलाई स्वीकार गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बाध्य भएका छन् । त्यसैले हुनुपर्छ, पार्टी केन्द्रीय समितिको बैठक, समापन गर्दै उनले भनेका छन्, अब २०८७ अघि संविधान संशोधन हुन सक्दैन । यसको अर्थ के भने, एमालेका लागि आफ्नो तानाशाही मनोरथ पूरा गर्न अहिलेकै शक्ति सन्तुलनमा सजिलो छैन । तर, ऊ जान चाहन्छ त्यतै, जताबाट लोकतन्त्र र यसका आधारहरूलाई निमोठ्न सकियोस् ।
माओवादी पार्टीले राष्ट्रिय राजनीतिमा आफ्नो भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा यो बैठकमा निकै जमेर छलफल गरेको छ । लोकतन्त्र र समाजवादका आधारहरू निर्माण गर्न अगाडि बढ्नैपर्ने निष्कर्षमा पुगेको छ ।
यस बीचमा भएका कमजोरीहरू स्विकार्ने, आत्मालोचना गर्ने र अगाडि बढ्ने बैठकको मनस्थिति देखिएको छ । त्यसैले नै हुनुपर्छ, माओवादी बैठकले गठबन्धन अवधिका यावत तिता र अमिला क्षणहरूको राम्रै चिरफार गरेको छ ।
माओवादी यो बैठकवाट एक्लै आफ्नो खट्टामा उभिन सक्ने आत्मविश्वासका साथ अघि बढेको छ । पार्टी र नेताहरूको यस्तो आत्मविश्वासले सिंगो कार्यकर्ता पक्तिमा पनि उत्साहको सञ्चार भएको खबर राष्ट्रवाणीमा उल्लेख छ ।
तर, एमाले नेतृत्व भने, सिक्ने र सुध्रने भन्दा आफ्नो अहंकारलाई स्थापित गरेर अगाडि जान चाहेको प्रस्ट देखिन्छ । यी बैठकका छलफल र निष्कर्षलाई हेर्दा लाग्छ, एमाले नेतृत्वको सर्वोच्चतालाई स्थापित गर्न चाहन्छ, माओवादी सामूहिकतालाई प्रवर्द्धन गर्न चाहन्छ ।
माओवादी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एक्लै चुनाव लडेर देशको सबैभन्दा ठूलो दल भइसकेको र करिव ३० प्रतिशतको लोकप्रिय मत हासिल गरिसकेको शक्ति हो भन्ने यथार्थ बैठकले राम्ररी स्मरण गयो, सम्बद्ध सबैलाई समेत स्मरण गरायो ।
एक्लै पहिलो ठूलो दलको हैसियतमा उदय भएको माओवादी त्यसपछिका दिनमा किन खुम्चियो ? पार्टीले के कस्ता कमजोरी गर्यो ? र, अब ती गल्ती कसरी सच्याउन सकिन्छ ?
त्यसको पुर्ताल वा क्षतिपूरण कसरी हुन सक्दछ ? भन्ने विषयमा समेत बैठकले राम्रै समीक्षा गरेको छ । माओवादीले यो बैठकवाट जनयुद्धकालीन स्प्रिट, मुद्दा, मौलिकता र पार्टीको छवि कतै धुमिल भएका वा ओझेल परेका थिए भने तिनलाई पुनःस्थापित गर्ने प्रस्ट प्रयत्न गरेको छ ।
प्रतिक्रिया