Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओली अस्वस्थ, राजधानी बाहिरका कार्यक्रम भर्चुअलबाट सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा समस्या आएपछि शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रम भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । दुई दिनदेखि आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार उपत्यका बाहिरको यात्रा नगरी भर्चुअल कार्यक्रममा सहभागिता जनाउने भएका हुन् ।

शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका थिए । बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न हुनेछ । यसबाहेक, राष्ट्रिय गौरवको आयोजना सिद्ध बाबा सुरुङ मार्गको ब्रेक थ्रु कार्यक्रम पनि भर्चुअल माध्यमबाटै गर्ने तयारी गरिएको छ ।

सिद्धबाबा सुरुङमार्गको १,१२६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने छ । यस अघि तीन वटा सहायक सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर लम्बाइमा ब्रेक थ्रु गरिएको थियो ।

दिउँसो १ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास कार्यक्रम पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिनेछ । प्रधानमन्त्रीको सचिवालयले सबै भर्चुअल कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार  १ : ०२ बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।