Logo

अर्थ

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु



चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरिन् ।

ताररहित महानगर बनाउने योजनाअनुरूप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उनले बताइन् । यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

आगामी दिनमा कामलाई तीव्रता दिँदै चाँडो आयोजनाको कामसक्ने उनले आग्रह गरिन् । काठमाडौँपछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ ।

पहिलो फिडरबाट भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालयमा भूमिगत रूपमा विद्युत् पुर्‍याइएको छ । यस्ता १७ वटा फिडरमार्फत महानगरको छ लेन सडक र बाइपास रोड सडमा ताररहित बनाउन लागिएको प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

आयोजनाले हालसम्म ७० प्रतिशत काम सम्पन्न गरेको छ । केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गर्ने काम भइरहेको छ ।

पौडेलका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि एक अर्ब ३० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरीरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार  ३ : ०१ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।