Logo

अर्थ

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक’ थ्रु, प्रधानमन्त्री ओलीले गरे भर्चुअल उद्घाटन



काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रु भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको भर्चुअल प्रविधिबाट ब्रेक थ्रु गरेका हुन् ।

ब्रेक थ्रुसँग बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।

सुरुङमार्गको ब्रेक थु समारोहलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुर्गमबाट सुगम र पिछडिएको देशबाट अघि बढेको देशका रूपमा अग्रसर हुँदैछ भन्ने सन्देश दिन सकिएको बताए ।

‘यो खुसी तपाई हामी सवैको खुसी हो । सिंगै देशको खुसी हो’, प्रधानमन्त्रीले भने, ‘पाल्पा, रुपन्देही, स्याङजा लगायतका जिल्लामा यस बाटोबाट आवतजावत गर्न सजिलो हुन्छ ।’

त्यसक्रममा प्रधानमन्त्रीले सुरुङमार्गको विशेष महत्त्व र ऐतिहासिक घटना भएको भन्दै इतिहासको एक सफलता भएको बताए । ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित भएका थिए ।

सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माण ठेक्का लगाएको थियो ।

सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी)ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको दुई हजार सात सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो ।

 

प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार  ३ : ४९ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।