काठमाडौं । अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । ९० दिनको समीक्षापछि सहायता जारी राख्ने वा बन्द नै गर्ने भन्नेबारे निर्णय हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
२० जनवरीमा शपथ ग्रहण गरेपछि वैदेशिक सहायता पुनर्मूल्यांकन सम्बन्धी कार्यकारी आदेश जारी गरेका ट्रम्पले वैदेशिक विकास अनुदान स्थगित गर्न मातहतका निकायकालाई निर्देशन दिएका हुन् ।
अमेरिकाले युक्रेनलाई हालसालै अरबौं डलरको सहयोग गरेको थियो । रुससँगको संघर्षमा युक्रेनलाई अमेरिकी सहयोग महत्त्वपूर्ण रहेको छ ।
यससँगै अमेरिकाले इजरायल र इजिप्टको सैन्य सहायता र खाद्य कार्यक्रमका लागि दिने सहयोग भने जारी राख्ने जनाएको छ । त्यस्तै, गरिब देशहरूलाई दिइने स्वास्थ्य सहयोग पनि रोकिएको छ ।
नेपाल पनि यस निर्णयबाट प्रभावित हुने अनुमान गरिएको छ । अमेरिकाले नेपाललाई कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, र सरसफाइका क्षेत्रमा अनुदान सहयोग दिँदै आएको छ । यी सबै क्षेत्रमा अमेरिकी अनुदानको ठूलो भूमिका रहेको छ । यस्ता परियोजनाहरू विशेष गरी यूएसएआईडी र एमसीसी मार्फत चलिरहेका छन् । ती पनि प्रभावित हुन सक्छन् ।




















प्रतिक्रिया