Logo

अर्थ

राजस्व संकलनमा सहयोगी भूमिका खेल्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह



काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा सहयोगी भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजस्व चुहावट, अनियमितताका प्रवृत्तिलाई निरुत्साहित गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरूलाई निर्देशित गर्न आग्रह गरे ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको बताए । सरकार विशेष परिस्थितिमा बनेको भन्दै उनले अहिलेको सरकार सरकारहरूको सूचीमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताए ।

उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताएका हुन् ।

‘यो सरकार विशेष परिस्थितिमा बनेको छ । विशेष अभिभारा पूरा गर्नका लागि बनेको छ । यो सरकारले जुन अभिभारा आफ्नो काँधमा लिएको छ । त्यसबाट पछि छुट्ने छुट यो सरकारलाई छैन । समस्त निजामती प्रशासन, भन्सार प्रशासन पनि सरकारको एउटा महत्त्वपूर्ण अंग हो । त्यसकारण आफ्नो जिम्मेवारीलाई महत्त्वका साथ पूरा गर्नुस्,’ उनले भने ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार १३:३८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।