Logo

प्रमुख समाचार

वर्षमानलाई लिएर तेह्रथुममा प्रचण्ड, दुई दिनसम्म ओलीको गाउँमा यस्ता छन् कार्यक्रम



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार तेह्रथुम गएका छन् । उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान सैनिक हेलिकप्टरमार्फत् उनी त्यसतर्फ गएका हुन् । सोमबार उनले लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यहाँबाट उनी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् । प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको सामूहिक रूपमा मारिएका थिए ।

पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो । सोही सन्दर्भमा प्रचण्ड सोमबार त्यहाँ आयोजित कार्यक्रमहरूमा सहभागी हुन लागेका हुन् ।

सोमबार दुई कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । उनी त्यहाँ रहँदा खाम्लालुङमा रहेको झाँक्री गुफा समेत अवलोकन गर्ने कार्यक्रम रहेको माओवादी नेता रघु गौतमले जानकारी दिए ।

मंगलबार बिहान आठराई गाउँपालिका–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने र कन्दङवाको शालीक अनावरण गर्ने कार्यक्रम छ । दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ११:३२   :  बजे

267
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।