काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रदमा आवेदन दिने समय थप गरिएको छ । यो हकप्रदमा माघ १४ गतेसम्म आवेदन दिने समय दिइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले कम्पनीले अब हकप्रद खरिदका लागि आवेदन दिने समय माघ २९ गतेसम्म थप गरेको छ । कम्पनीले पुस २३ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो ।
कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात हाल कायम १ कित्ता शेयरबराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद बिक्री खुला गरेको हो । यसअनुसार कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।
हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो। त्यसकारण मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको हकप्रद बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, वीरगन्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ ।




















प्रतिक्रिया