Logo

प्रमुख समाचार

सातै प्रदेश र पालिकामा पनि समानान्तर संयन्त्र बनाउँदै कांग्रेस-एमाले



काठमाडाैं । कामकारबाहीलाई सहजीकरण गर्न भन्दै सत्तारूढ कांग्रेस र एमालेले तीन महिनाअघि केन्द्रमा गठन गरेको राजनीतिक संयन्त्रलाई प्रदेश र जिल्ला तहमा समेत विस्तार गरेका छन् ।

संविधान र कानुनले नै नचिन्ने यस्तो संयन्त्र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको अनुमतिमा सातै प्रदेश र विभिन्न जिल्लामा पनि गठन गरिएका हुन् । पालिका तहमा पनि द्विदलीय संयन्त्र गठन गर्ने कांग्रेस र एमालेको तयारी छ ।

कांग्रेस र एमालेको कात्तिक १५ मा भएको संयुक्त बैठकले सरकारका कामलाई प्रभावकारी बनाउन केन्द्रदेखि जिल्ला तहसम्म द्विदलीय संयन्त्र बनाउने निर्णय गरेको थियो ।

केन्द्रमा तत्कालै बनेको संयन्त्रमा ओली र देउवा आफैंले नेतृत्व गरेका छन् । केन्द्रको उक्त संयन्त्रले प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा तय गर्नेदेखि सरकारले ल्याएका ६ वटा अध्यादेशको गृहकार्यसम्मका काम गरेको थियो । प्रदेश र पालिकामा पनि त्यस्तै संयन्त्र बनाएर कांग्रेस र एमालेले समानान्तर शक्तिको अभ्यास थालेका छन् ।

काेशी प्रदेशको द्विदलीय संयन्त्रमा एमालेका कोशी प्रदेश इन्चार्ज पूर्वमुख्यमन्त्री शेरधन राई संयोजक छन् । संयन्त्रमा एमालेबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा र मुख्यमन्त्री हिक्मतकुमार कार्की, कांग्रेसका तर्फबाट संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापा, महामन्त्रीसमेत रहेका भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राई र अर्का महामन्त्री उमेश थापा रहेका छन् ।

संयोजक राईले गत मंसिर १४ मा पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षको बजेट पुनरावलोकन हुने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति घुमाउरो पारामा असन्तुष्टि जनाउँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भनेका थिए, ‘बजेट कसरी पुनरावलोकन गर्ने भन्ने विषयमा स्पष्ट छैनौं ।’

संयन्त्रका सदस्य कांग्रेस कोशीका महामन्त्री तथा भौतिक विकासमन्त्री भूपेन्द्र राईले पुस ७ मा पत्रकार सम्मेलन गरेरै बजेट कार्यान्वयन भइसकेका कारण पुनरावलोकन गर्ने सम्भावना नरहेको बताए । कोशी प्रदशेसभाको प्रमुख प्रतिपक्षी माओवादीले सदनमै कुरा उठाएपछि बजेट पुनरावलोकनको मुद्दा सेलाएको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार ०९:४९   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।