रूपन्देही । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कुकर्म लुकाउन कांग्रेस-एमाले मिलेको आरोप लगाएका छन् । उनले कुनै प्रकारले पनि अहिले देशको अवस्थालाई ठीक मान्न नसकिने र देश कुनै पनि क्षेत्रमा ठीकसँग अगाडि बढ्न नसकेको बताए ।
शनिबार बिहान रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष महतोले देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्था नाजुक रहेको बताए ।
मुलुकको सभ्यता र संस्कृतिमाथि दिनदहाडै आक्रमण भइरहेको उनको भनाइ छ । उनले पाथिभरामा केबुलकार निर्माण गर्न नहुने बताए । पर्यटन क्षेत्रको विकासको नाममा संस्कृति र सभ्यतामाथि आक्रमण गर्न नपाइने उनले बताए ।
लोकतान्त्रिक मूल्यमान्यताका लागि जनताले धेरै संघर्ष गरे पनि आज देशमा लोकतन्त्रमाथि संकट ल्याउने प्रयास गरिएको बताए । ‘यहाँ पक्ष र विपक्ष देखिएन, काँग्रेस र एमाले ९पहिलो र दोस्रो पार्टी० लोकतान्त्रिक मूल्यमान्यताको हत्या गर्न पुगे’उनले भने, दुईटै मिलेर जे गरे पनि हुन्छ भन्ने मान्यताका साथ देशलाई अगाडि बढाउन खोजिरहेका छन् ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महतोले यो देशमा सत्ता पक्ष र प्रतिपक्ष नदेखिएको दावी गरे । आफ्नो कुकर्मलाई ढाकछोप गर्न दुई मुख्य पार्टी मिलेको उनले आरोप लगाए । आफ्नो सत्ता स्वार्थका लागि काँग्रेस–एमाले मिलेको उनले दावी गरे ।
‘काँग्रेस, एमाले र माओवादीले यो देशलाई यो अवस्थामा पुर्याएका हुन्, जनताको विश्वासमाथि तीन दलले घात गरेका छन्’उनले भने–‘नेपाली जनताले विकल्पको खोजी गरिरहेको छ । देशमा परिवर्तन आवश्यक छ र त्यसको लागि राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता छ ।’
जनताको मागअनुसार संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ । ‘राज्यले पनि बदलाको भावनाले काम गरिरहेको कुरा सत्य हो, तर, रवि लामिछानेले पनि केही न केही गरिरहेको कुरा आइरहेको छ उनले भने–‘सहकारी ठगी धन्दामा संलग्नता देखिएको कुरा मिडियाले लेखिरहेको छ ।’




















प्रतिक्रिया