काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार विषयमा विस्तृत छलफल गर्न बसेको बैठक विथोलिएको छ । आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीच भएको छलफल विषयमा प्रवेश नगरीकनै टुंगिएको आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताले जानकारी दिए ।
आफूहरुले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै वार्ता बस्ने गरी माग गरेको तर वार्तामा कर्मचारीको नेतृत्वमा उपस्थित भएकाले आफूहरूले छलफल नै अगाडि नबढाएको मेहेताले बताए ।
यसअघि माघ २२ गते वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता आज बस्ने तय भएको थियो । तर, आज भएको दुई पक्षीय वार्ता भाँडिन पुगेको मेहताले बताए । अन्तरदलीय मुक्कुमलुङ संरक्षण संघर्ष समितिले अब मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समितिको माग गरेको छ ।
यो विषय राजनीतिक मुद्दा भएकाले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समिति गठन भएमात्रै आफूहरु छलफलमा सहभागी हुने मेहेताले बताए । त्यसका लागि आज साँझसम्म समय दिएको उनले बताए । ‘उहाँहरु भनेको कार्यान्वयनमात्रै गर्ने हो । यो राजनीतिक मुद्दा भएकाले हामी मन्त्री वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै छलफल गर्ने भनेका छौं’, उनले भने, ‘नभए भोलिदेखि हामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’
पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।




















प्रतिक्रिया