Logo

अटो

टोयोटाको आधिकारिक बिक्रेता शुभलक्ष्मी अटो लिंकबिरुद्ध मुद्धा दर्ता हुँदै : चोरी पैठारीमा अनुसन्धान जारी



बुटवल । टोयोटाको आधिकारिक बिक्रेता शुभलक्ष्मी अटो लिंक प्रालि बुटवलले मोटरपार्टसजन्य मालवस्तुहरुको खरिद बिल बिजक तथा भन्सार पैठारीको स्रोत बिना चोरी पैठारी गरी ल्याईएका मालवस्तु बिक्री बितरण गरेको पाइएको छ।

कम्पनीले बिल बिजक जारी नगरी मालवस्तु बिक्री गरी राजस्व चुहावट गरेको हुन सक्ने देखिएको र सो विषयमा यकिन गर्नुपर्ने भएकोले यस सम्बन्धमा विस्तृत छानवीन गरी थप अनुसन्धान भईरहेको भन्सार विभागले जनाईएको छ ।

विभागका अनुसार उक्त फर्मको वर्कशप तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिल बिजक, खरिद खाता, विक्री खाता, लगायत अन्य आवश्यक कागजातहरु तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण प्रतिवेदन अध्ययन गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टि गरेबमोजिमको परिमाण भन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको हो।

बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालवस्तुको अभिलेख बिक्रीखातामा प्रविष्टि नगर्नुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२(संशोधन सहित) को दफा ४(छ) र (झ) बमोजिमको कसूर गरेको पुष्टि हुन आउँछ । चुहावट गरेको राजस्वको बिगोको शत प्रतिशत जरिवाना गरी जम्मा १  करोड ९  लाख १८ हजार ९ सय ५३ रुपैयाँ बिगो समेतको जरिवाना कायम गरिएको छ ।

२०८१ पौष २४ गते उक्त सम्पूर्ण रकमको विगो र जरिवाना समेत खाम्ने गरी बैंक जमानत पेश गरेको अवस्था छ । छिट्टै विभागबाट स्विकृति लिइ मुद्दा दायर गर्न लागिएको राजस्व अनुसन्धान विभाग बुटवलले जानकारी दिइएको छ। यस सम्बन्धमा  थप बुझ्न टोयोटाका सुरज वैद्यलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आईतवार २१:५५   :  बजे

711
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।