Logo

प्रमुख समाचार

भूमिसम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत हुन्छ : प्रधानमन्त्री



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगानी प्रवर्द्धन र आर्थिक गतिविधि सहज बनाउन ल्याएका अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताएका छन् ।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल र सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसक्ने अडान राखेपछि राष्ट्रिय सभामा बहुमत नपुग्ने देखिँदा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूचीमा परेको छैन ।

प्रतिनिधि सभामा कांग्रेस-एमालेको मात्रै पनि बहुमत छ । तर राष्ट्रिय सभामा कांग्रेस र एमालेका जम्मा २७ जना सांसद छन् जबकि बहुमतका लागि ३० जना सांसद आवश्यक पर्छ। यसका लागि ३ सांसद भएको जसपा नेपालको साथ अनिवार्य छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार राति साढे १ बजे नेकपा (एमाले) बागमती प्रदेशमा रहेका विभिन्न जिल्लाका इन्चार्जहरूले भेटेका थिए । सोही क्रममा एक नेताले प्रधानमन्त्री ओलीलाई भूमिसम्बन्धी अध्यादेश सदनबाट के हुन्छ भन्ने जिज्ञासा राख्दा प्रधानमन्त्री ओलीले स्वीकृत हुने जबाफ दिएका हुन् ।

सरकारले ल्याएका सबै अध्यादेश सदनबाट पारित हुने विश्वासमा प्रधानमन्त्री ओली रहेको पनि एक नेताले बताए ।

प्रधानमन्त्री ओलीलाई भेट्न बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, बागमती अध्यक्ष कैलाश ढुंगेल, पार्वत गुरूङ, देवी ज्ञवालीलगायत नेताहरू बालुवाटार गएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार १२:२४   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।