काठमाडौं । विभिन्न अध्यादेशहरू संसदीय प्रक्रियामा अगाडि बढ्नको लागि थप समय लाग्ने भएको छ । प्रतिनिधि सभाको बैठक आइतबार, सोमबार र मंगलबार लगातार बस्ने भए पनि ती बैठकहरूमा अध्यादेश अगाडि बढाउने कार्यक्रम राखिने छैन ।
त्यसपछि प्रतिनिधि सभाको अर्को बैठक यही फागुन ११ गतेका लागि राख्ने गरी प्रतिनिधि सभाको सम्भावित संसदीय क्यालेन्डर तयार भएको छ । फागुन ११ गते प्रतिनिधि सभामा अध्यादेश अगाडि बढाउने गृहकार्यमा सत्तारुढ दलहरू रहेका छन् ।
आइतबार बिहान सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा बसेको थियो । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा अध्यादेश अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।
एमालेका मुख्य सचेतक महेश बर्तौला भन्छन्, ‘संसद्मा टेबुल भएका अधयादेबारे केही छलफल भइरहेका छ्न् । कुन दिन संसद्मा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने भन्ने ठ्याक्कै तय भएको छैन ।’
आइतबार, सोमबार र मंगलबारको प्रतिनिधि सभाको बैठकमा भने अगाडि बढाउन तयारी नपुग्ने उनले बताए । ‘सरकारका मन्त्रीहरू स्वयम अध्यादेशमा तयारी भएर जवाफ दिनुपर्ने हुन्छ । प्रतिनिधि सभामा ५१ वटा अस्वीकृतका प्रस्तावहरू दर्ता भएका छन् । यी सबैको छिनोफानो पनि गर्नुपर्ने भएको कारणले गर्दा आगामी बैठकमा यो अगाडि बढ्छ’ उनले भने ।
फागुन ११ गते वा त्यो भन्दा पछाडि कहिले अध्यादेश अगाडि बढ्छ भन्नेमा सत्तापक्षका प्रमुख सचेतकहरू टुंगोमा पुग्न सकेका छैनन् ।
मन्त्रिपरिषद्को सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।
२९ पुसमा थप चारवटा अध्यादेश जारी गरे । जसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश छन् । २ माघमा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरे । यी ६ वटै अध्यादेश दुवै सदनमा अधिवेशन सुरु भएकै दिन १८ माघमा प्रस्तुत भइसकेको छ ।
प्रतिक्रिया