काठमाडौं । ताप्लेजुङमा बिवादित केबलकार निर्माणबारे कार्टुनिस्ट आशिष खनाल ‘माड्साब’ले आफ्नो सामाजिक सञ्जालमार्फत आलोचनात्मक धारणा व्यक्त गरेका छन् । उनले धार्मिक स्थलहरूको मौलिकता, स्थानीय अर्थतन्त्र र जनपक्षीय विकासलाई ध्यानमा राख्दै केबलकार आवश्यक नरहेको बताएका छन् ।
उनि भन्छन्, – ‘अधिकांश धार्मिक तथा सांस्कृतिक स्थलहरू दुर्गम स्थानमै रहेका हुन्छन्, जसले ती स्थानहरूको विशेषता थपिन्छ ।’ उनले भारतका प्रसिद्ध धार्मिक स्थलहरू जस्तै: बद्रीनाथ र केदारनाथमा केबलकार नबनाइएको उदाहरण दिँदै, जोखिमपूर्ण यात्रा र कठिन भौगोलिक अवस्थाले नै ती स्थलहरूको गरिमा बढाउने तर्क राखेका छन् ।
“यदि यात्रा कठिन छ भने नजाने विकल्प पनि छ। हाम्रो अघिल्लो पुस्ताले यात्रा गर्न नसकेको आधारमा नाम्चे बजारदेखि सगरमाथासम्म केबलकार बनाउन सकिन्छ भन्ने सोच उपयुक्त हुँदैन,” उनले भनेका छन्।
स्थानीय व्यवसाय र जनजीविकामा असर पर्ने सम्भावनाप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन् । “बाटोमा चिया तथा चना बेचेर जीविका चलाइरहेका धेरै स्थानीयको आम्दानीलाई यसले प्रभाव पार्न सक्छ। राज्य र सरोकारवालाले यस विषयमा गम्भीर रूपमा सोच्नुपर्छ,” उनले उल्लेख गरेका छन् ।
उनले विकासका लागि केबलकारमात्र समाधान नभएको बताउँदै दुर्गम क्षेत्रका विद्यालय तथा अस्पतालहरूको पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
‘बिकास त सधै जनपक्षीय र जनमैत्री पो हुनुपर्ने होला त ! रगत बगाएर,दाजुभाइ फुटाएर के को बिकास? विकास जनमैत्री र समावेशी हुनुपर्छ, न कि विखण्डनको माध्यम,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया