Logo

कोशी प्रदेश

केबलकार रोक्न कोशीका सांसदहरुको माग: निषेधाज्ञा र कर्फ्यू लगाएर गरेको दमन सैह्य नहुने जिकिर



विराटनगर ।  ताप्लेजुङको पाथीभरा ( मुकुम्लुङ) क्षेत्रमा निर्माणधीन केबुलकार रोक्नका लागि कोशी प्रदेश सांसदहरुले माग गरेका छन् । आइतबार प्रदेश सभाको शून्य समय र विशेष समयमा बोल्दै सांसदहरुले तत्काल रोक्न माग गरेका हुन् ।

‘एउटा व्यापारीको प्रलोभनमा परेर सरकारले नागरिकमाथि दमन गर्ने र नागरिकमाथि गोली हानेर जबरजस्ती विकास र व्यापारका नाममा जुन गतिबिधि गरिरहेको छ, यो उचित छैन’ विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने,‘तत्काल केबुलकार निर्माण रोकिनुपर्छ, निर्माण क्षेत्रबाट फिर्ता बोलाएपछि स्वत स्थिति शान्त हुन्छ ।’

उनले मन्त्री स्तरमा वार्ता गरेर केबुलकार निर्माण गर्ने वा नगर्ने निष्कर्षमा पुग्न आग्रह गरे । उनले व्यापारीको फाइदाका लागि नागरिकमाथिको दमन सह्य नहुने बताए ।

माओवादी केन्द्रले केबलकार विरोधको आन्दोलनलाई नैतिक समर्थन गरेको बताउँदै उनले सरकारले तत्काल पहलकदमी नलिए आन्दोलनमा उत्रिने बताए ।

‘केबुलरकार निर्माणको काम रोकेर सरकारले उच्चस्तरीय वार्ता टोली बनाई निकास खोज्नुपर्छ’ उनले भने, ‘निषेधाज्ञा र कर्फ्यू लगाएर स्थानीय समुदायमाथि गरेको दमन सैह्य हुँदैन ।’ ताप्लेजुङ अशान्त रहेको बेला सरकारले ‘केही भइरहेको छैन’ भनेजस्तो गरेको आङ्बोको गुनासो छ ।

विशेष समयमा बोल्दै एमाले सांसद तिलकुमार मेन्याङ्बोले केबलकारको पक्ष र विपक्षमा देखिएको परिस्थीतिलाई धेरै लामो राख्न नहुने बताए ।

सांसद विद्या चाम्लिङ राई, खिनु लङ्वा लिम्बू, प्रदीपकुमार सुनुवार, सविना बजगाईं, प्रेमराज थाम्सुहाङ, गोबिन्द गिरीले पाथीभरा क्षेत्रको विवाद समाधान गर्न माग गरेका छ्न् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार ०७:४१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।