Logo

प्रमुख समाचार

देशको ढुकुटी भर्ने अर्थमन्त्रीका तीन सारथी, स्वास्थ्य सचिवमा तीन जनाको प्रतिस्पर्धा

सडक बोर्डको बजेटमा केसीको दादागिरी



काठमाडौं । गत माघ २७ गतेको मन्त्रिपरिषद् बैठकले देशको ढुकुटी सम्हाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवमा भित्र्याएको छ ।

विवादित अर्थसचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गरी राष्ट्रपति कार्यालयमा पठाई दबाब र विभिन्न झण्झटबाट अर्थ मन्त्रालयलाई मुक्त गराइएको बताइएको छ । अर्थ र राजश्वका हाकिमहरु परिवर्तन गरेर राजश्व उठ्छ भन्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको मान्यता पूरा हुन्छ कि हुँदैन त्यो भविष्यले बताउने छ ।

यसअघि पनि अर्थमन्त्री पौडेलकै चाहनामा अर्थसचिव, भन्सार विभागको महानिर्देशक र आन्तरिक राजश्व विभागको महानिर्देशक हालै सरुवा गरिएका थिए । मन्त्री पौडेलले अर्थसचिवमा घिमिरे, भन्सार विभाग र आन्तरिक राजश्व विभागको महानिर्देशकमा रोजेर सहसचिवहरु लगेका थिए ।

अर्थतन्त्रमा कुनै सुधार हुन नसकेपछि उनीहरुको सरुवा भएको समाचार श्रोतले बताएको छ । अर्थमन्त्री पौडेलको मन्त्रिस्तरीय निर्णयले भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीको ठाउँमा महेश भट्टराई र आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यको ठाउँमा मदन दाहाललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी मन्त्रालयको प्रशासन महाशाखामा थान प्रसाद पंगेनी र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख शोभाकान्त पौडेललाई आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरिएको छ ।

देशको अर्थतन्त्रले क्रमशः सुधारको गति लिई लयमा फर्कन थालेको बताइए पनि अर्थमन्त्री पौडेलले राजश्व नउठेपछि गत वर्ष आफैंले ल्याएको बजेट घटाउन बाध्य भएका छन् । राजश्व संकलन गर्न र देशको ढुकुटी भर्न ल्याएका अर्थसचिव उपाध्याय, भन्सार विभागका महानिर्देशक भट्टराई र आन्तरिक राजश्व विभागका महानिर्देशक दाहाललाई असफल हुने छुट नभएको बताइन्छ ।

नयाँ समूहले उद्योगी र व्यापारीहरुलाई खुशी बनाई राजश्व असुल उपर गर्नुपर्ने, भन्सार नाकाहरुबाट हुने चोरी तस्करीप्रति निर्मम बनी कार्य एवं जिम्मेवारी पूरा गर्ने आशा तथा विश्वास गरिएको छ । यो समूहले हाल बैंकमा थुप्रिएको पैसालाई बजारमा ल्याई चलाएमान गराउन सके अर्थतन्त्र सुधार हुने तथा अर्थमन्त्रीको भरोसा पूरा हुने जानकारहरुले बताएका छन् ।

यसो नभएमा जुनै जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ नहोला भन्न सकिन्न । अर्थतन्त्र सही मार्गमा ल्याउन यो समूहले कडा मेहनत गर्नुपर्ने चर्चा छ ।

स्वास्थ्य सचिवमा तीन जनाको प्रतिस्पर्धा

नेपाल सरकारका सचिवहरुको अनिवार्य अवकाश हुने क्रममा पर्सी आइतबार (फागुन ११) गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश हुँदैछन् । यसअघि गत माघ २९ गते उपराष्ट्रपति कार्यालयमा कार्यरत दिनेश भट्टराई पनि पाँच वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएका थिए ।

स्वास्थ्य सचिव डा. पोख्रेलको अवकाश भएको भोलिपल्ट अर्थात फागुन १२ गते नक्कली भूटानी शरणार्थी काण्डमा दोषी ठहर भै हाल थुनामा रहेका सचिव टेक नारायण पाण्डेको पनि अवकाशकै सूचीमा दर्ज भएका छन् ।

स्वास्थ्यसचिवसँगै स्वास्थ्य मन्त्रालयमा कार्यरत १२औं तहका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको पनि अवकाश हुने बताइएको छ । यसैबीच स्वास्थ्य सचिव पोखरेलको अवकाश हुने भएपछि स्वास्थ्य सचिव बन्न तीनजना डाक्टरहरुको शक्तिकेन्द्रमा दौडधूप शुरु भएको समाचार श्रोतले जानकारी दिएको छ ।

सचिवका दावेदारहरुमा एकै पटक १२औं तहमा बढुवा भएका स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, उनीभन्दा अगाडि स्वास्थ्यसेवा विभागमा महानिर्देशक रहेकी डा. संगीता मिश्र र डा. टंक बराकोटी रहेका रहेका छन् ।

यसमध्ये डा. मिश्रलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा औषधि र उपकरण लगायत विभिन्न खरिदमा आर्थिक चलखेल र अनियमितता गरेको आरोपमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरुवा गरी मन्त्रालयमा तानेर डा. देवकोटालाई विभागको जिम्मेवारी सुम्पिएका थिए ।

नेतृत्व र प्रशासनिक क्षमतामा डा. मिश्र र डा. बाराकोटी कमजोर रहेकोले उनीहरुको सचिव बन्ने सम्भावना कम रहेको समाचार श्रोतले बताएको छ । डा. मिश्र काँग्रेस नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा र डा. बाराकोटी झापा घर भएका कारण प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली निकटका नेताहरुकोमा धाउन शुरु गरेको श्रोतहरुले बताएको छ ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएपछि विभिन्न सुधारका कामहरु गरेका डा. देवकोटा सचिव बन्ने दौडमा अगाडि रहेको जानकारहरुले बताएका छन् ।

डा. देवकोटा विभागको महानिर्देशक बनेपछि विभागमा हुने गरेका आर्थिक चलखेल र भद्रगोल व्यवस्थापनले काँचुली फेरेको बताइएएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखा भ्रष्टाचार र आर्थिक चलखेलका हिसाबमा अग्र पंक्तिमा रहेको श्रोतले बताएको छ । हाल उक्त शाखामा नेतृत्व फेरिएको श्रोतले बताएको छ ।

सडक बोर्डको बजेटमा के.सी.को दादागिरी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक बोर्ड नेपालमा गणेश बहादुर के.सी. कार्यकारी निर्देशक छन् ।

सडक बोर्ड नेपालको अध्यक्ष भौीतक पूर्वाधार तथा यातायात सचिव केशव कुमारशर्मा रहेका छन् । सडक विभाग मातहतका सडक डिभिजनहरु र स्थानीय तह अन्तर्गतका सडकहरुलाई मर्मत÷सम्भारको लागि सडक बोर्डबाट रकम निकासा हुने गरेको छ ।

राष्ट्रिय यातायात नीति, २० वर्षे गुरु योजना, १० वर्षे पाइप प्लान, १६ औं राष्ट्रिय योजना जस्ता महत्वपूर्ण कार्यक्रमको सफल कार्यान्वयन तथा उद्देश्यपूर्णका निम्ति खम्बा ठानिएका सडक डिभिजनहरुको मर्मत संभारको लागि सडक बोर्डबाट निर्णय भए पनि बजेट निकासा नहुँदा सडक डिभिजनहरु मारमा परेको समाचार श्रोतले बताएको छ ।

गत २०८१ माघ ४ गते निर्णय भएको रु. १६ करोड भुक्तानी रोकिँदा सडक डिभिजनका प्रमुखहरु र निर्माण व्यवसायी तनावमा परेको बताइएको छ । सडक बोर्डले विभिन्न बहानामा भुक्तानी रोकिँदिँदा सडक डिभिजन काठमाडौं, भक्तपुर–नुवाकोट, दमौली, पाल्पा, पोखरा, हेटौंडा लगायतका सडक डिभिजनहरुका प्रमुख र प्रतिनिधि मिनभवनमा धाइरहेको समाचार श्रोतले बताएको छ ।

सडक बोर्डमा हुने निकासा छिटो छरितो तरिकाबाट गराउनुको सट्टा कार्यकारी निर्देशक केसीले तोक लगाएपछि कर्मचारीहरुले फाईल घुमाएर दुःख दिने गरेका छन् । कार्यकारी निर्देशकले तोक लगाएको पत्र दर्ता भै सकेपछि लेखा शाखामा पुग्न महिनौ लाग्ने गरेको जानकारहरुले बताएका छन् ।

खासगरी लेखाप्रमुख टेकराज अर्याल र अन्य शाखाहरुले पनि सताउने गरेको र फाईल वा बिल आएको छैन भनी विभिन्न बहानामा अड्काउने चेक बनेपनि बनेको छैन भनेर कार्यकारीको टाउकोमा दोष थुपार्ने प्रवृत्तिले सडक बोर्डमा दादागिरी चल्ने गरेको र त्यस्ता कर्मचारीहरुलाइ कायकारीले संरक्षण गरेको आरोप लागेको खबर नयाँ विमर्शमा उल्लेख छ ।

यता तोक लगाएपछि आफ्नो कर्तव्य पूरा भएको ठान्ने गरेका केसीलाई नै कर्मचारीहरुले नै नटेर्ने बताइएको छ । कार्यकारी निर्देशक केसी दल बदल्न र मोज मस्तीमा रमाउने गरेको जानकारहरुले बताएका छन् ।

शक्तिको पछाडि दौड्ने केसी खुला प्रतिस्पर्धाबाट बोर्डको कार्यकारी बनेका हुन् । केसीलाई कर्मचारीहरुको व्यवस्थापन गर्न र कार्यक्षमता देखाउन नसकेको जस्ता आरोप पनि लगाइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलवार २२:४२   :  बजे

891
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।